June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

दरबार हत्याकाण्डको २१ वर्ष पूरा, अझै पत्ता लागेन कारण

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको आज २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राति सवा ९ बजे राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको थियो । हत्याकाण्डको २१ वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन।

नारायणहिटी दरबारमा नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर, तत्कालीन प्रधानन्यायाधीश संयोजकत्वको छानबिन समितिले स्वतन्त्र अनुसन्धान गर्न नसकेको धेरैले बताउँदै आएका छन् ।

उक्त हत्याकाण्डको यथार्थ छानबिन हुनु पर्ने अझै पनि माग हुँदै आएको छ । तर, राजनीतिक नेतृत्वले यसमा चासो देखाएको पाइँदैन । प्रतिपक्षमा हुँदा दरबार हत्याकाण्ड र मदन भण्डारीकोको मृत्यु हत्या कि दुर्घटना भन्नेबारे छानबिन गर्नु पर्ने आवाज उठाउने दलहरु सत्तामा पुगेपछि मौन बस्ने गरेका छन् ।