June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

निर्मला पन्तका बलात्कारी र हत्यारालाई पक्राउ गरेरै छाड्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कारी र हत्यारालाई पक्राउ गरेरै छाड्ने बताएका छन् । सोमबार चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन ।

बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

‘बलात्कारजस्तो घटनामा अपराधीलाई क्षमा दिन सकिँदैन, ढिलो/चाडो अपराधीलाई कानूनी कठघरामा उभ्याइने छ । महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको छ’, प्रधानमन्त्री देउवाले भने ।

प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न अझै सकेको छैन । जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, प्रदेश प्रहरी कार्यालय र अपराध अनुसन्धान समूहको टोलीले निरन्तर अनुसन्धान जारी राखेको छ ।