युवा नेता देउवाले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

धनगढी मंसिर १४(ई-रैवार)
नेपाली कांग्रेसका युवा नेता हर्क बहादुर देउवाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीति गर्दै राष्ट्रिय राजनीतिमा पहिचान बनाएका देउवाले यसपटकको महाधिवेशनमा केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।
हाल ४६ बर्षिय देउवाले २०४७ सालदेखी नेपाली कांग्रेसको भातृ संस्था नेविसंघको राजनीतिमा प्रवेश गरेका थिए । डोटीको घण्टेश्वर माध्यामिक विद्यालय जोरायलमा नेविसंघको इकाई उपाध्यक्ष हुँदै उनी राजनीतिमा प्रवेश गरेका थिए ।
त्यसपछि २०४८ सालमा नेविसंघको जिल्ला कार्यसमितिको उपाध्यक्ष चुनिएका उनि सोही वर्ष सम्पन्न नेविसंको बुटवल महाधिवेशनका प्रतिनिधी चुनिएका थिए ।
त्यसपछि २०५४ सालमा बानेश्वर क्याम्पस काठमाण्डौँमा स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्ष पदमा चुनाव जितेका थिए । उनको त्यो कार्यकाल २०५७ सालसम्म रह्यो ।
युवा नेता देउवा २०५९ सालमा नेविसंघ केन्द्रीय सदस्यमा चुनिएका थिए । २०६२ सालमा सम्पन्न नेविसंघको महाधिवेशनमा केन्द्रीय उपाध्यक्षमा प्रत्यासी थिए ।
यस्तै २०७३ सालमा सम्पन्न नेपाल तरुण दलको महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदका प्रत्यासी रहेका युवा नेता देउवाले पार्टीका नेताहरुको आग्रहमा सर्वसम्मतीका लागि जीतजंग बस्नेतलाई छाडेका थिए ।
युवा नेता देउवा हाल नेपाली कांग्रेस संघीय मामिला तथा प्रदेश समन्वय विभागको केन्द्रीय सदस्य छन् । यस्तै डोटीबाट महाधिवेशन प्रतिनिधीको निर्वाचन जितेका छन् ।
युवा नेता देउवाले लोकतन्त्र प्राप्तीका लागि विभिन्न समयमा भएका संघर्षहरुमा राजधानी र देशका विभिन्न सहरहरुमा रहेर आफ्नो भूमिका निर्वाह गरेका छन् । साथै शैक्षिक सुधारका सवालमा लामो संघर्ष गरेका छन् ।
विद्यार्थी तथा तरुण राजनीतिका क्रममा आफ्नो संघर्ष, त्यसक्रममा निर्माण भएको देशभरीको सञ्जाल नै आफ्नो केन्द्रीय सदस्य पदमा निर्वाचित हुने आधार रहेको युवानेता देउवा बताउछन् । ‘मैले झण्डै तिन दशक राजनीतिक संघर्ष गरेको छु । जसक्रममा देशभरका तमाम साथिहरुसंग जोडिने मौका पाएको छु । तिनै साथि प्रतिनिधी चुनिएर आएका छन्,’ उनले भने,‘त्यसैले साथिहरुको सल्लाह र समयको आवश्यकता अनुसार मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएको छु ।’
खुल्ला वा भूगोल केबाट उम्मेदवारी दिने भन्ने विषयमा अझै निर्णय गरिनसकेको उनले बताए । उनले भने,‘अग्रज नेताहरुको परामर्शमा यो निर्णय लिन्छु ।’
युवानेता देउवा संस्थापन(देउवा) पक्षधर नेता हुन् ।





प्रतिकृया दिनुहोस्