September 22, 2026, Tuesday
२०८३ आश्विन ६

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक २८ (ई-रैवार) 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमता विश्वभर चिनाउनुपर्ने बताएका छन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र गौरवभित्र लुकेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमता विश्वभर चिनाउनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाती, समुदायका मौलिक संस्कृति कलाहरूलाई समेटेर उनीहरुको संरक्षण, संवर्द्धन, उन्नतीका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘आगामी दिनमा पनि प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाती, समुदायका मौलिक संस्कृति कलाहरुलाई समेटेर उनीहरुको संरक्षण, सवद्र्धन, उन्नतीका क्षेत्रमा थप प्रयास गरिरहनेछ भन्ने मैले विश्वास लिएको छु, यहाँका हिमाल, पहाड, तराई, खोलानाला, गुम्बा, नेपालका आफ्नै कथाहरु छन्, प्रत्येक जाती र संस्कृतिसँग जोडिएका अनगिन्ति प्राज्ञिक कुराहरु छन्, नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका कयौँ सम्पदाहरु छन्, यिनको खोजी र प्रकाशन आजको प्रमुख आवश्यक्ता हो।’

प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र लगायतका विषयहरुमा केन्द्रित रहेर अध्ययन, अनुसन्धान, गोष्ठी, सम्मेलन, कार्यशाला प्रकाशनका माध्यमबाट राष्ट्रियताको लागि र राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि ऐतिहासिक काम गरिरहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ को महामारीका समयमा पनि प्राज्ञिक अध्ययन अनुसन्धानका काममा नियमितता दिएकामा प्रशंसा गरे । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रतिष्ठानले ऐतिहासिक ग्रन्थहरूको प्रकाशन र पुनः प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रको समृद्धिका लागि योगदान दिनसक्ने बताए ।

प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रतिष्ठानले लेखक साहित्यकार परिचयपत्र वितरण गरेर उपयोगी काम गरेको बताए । सभामा नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सभामा शुभकामना व्यक्त गरेका थिए ।