April 24, 2026, Friday
२०८३ बैशाख ११

भुपेन्द्र बडुवाल हत्या प्रकरण : थप एक जना पक्राउ, अनुसन्धान गर्न सीआईबी खटाउने तयारी

काठमाडौं, कात्तिक २८ (ई-रैवार)

भुपेन्द्र बडुवालको हत्या प्रकरणको अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाउने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको आग्रहमा सीआईबीको टोली खटाउने तयारी गरिएको हो ।

भुपेन्द्र बडुवालको हत्या घटनामा संलग्ताको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यो संगै सो घट्नामा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । यसअघि, आठ जनालाई पक्राउ गरेको प्रहरीले लम्कीबाट विकास खड्कालाई पक्राउ गरेको हो । सात जना अझै फरार रहेका इलाका प्रहरी टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको गत मंगलबार राति टीकापुरमा हत्या भएको थियो । प्रहरीले हत्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई पक्राउ गरेको छ ।

कैलालीको चिसापानीमा रहेको होटल संगमका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर बडुवालको हत्या भएको प्रहरीको दाबी छ । उनी फरार छन् । अनुसन्धानमा संलग्न एक अधिकारीले भने,“यो संगठित अपराध हो । यसका प्रमाण जुटाउन र पुष्टि गर्न सिआइबीको आवश्यकता महसुस गरेपछि सीआईबीले सघाउनेछ ।”