June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

विराटनगर कारागारमा दोहोरो झडप : चौकीदार गुरूङसहित ६ जना घाइते

विराटनगर, कात्तिक २३ (ई-रैवार)

विराटनगर कारागारका कैदीबन्दीबीच दोहोरो झडप भएको छ। कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो ।

कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार झडपको क्रममा चौकीदार गुरूङसहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा नाइके किरण गुरूङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्तान, डिल्ली देवान र सूर्यदिप गुप्ता छन्। घाइतेलाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ ।

चौकीदार गुरूङ समूहको अत्याचार सहन नसकेपछि कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति भएको बताइएको छ । गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको आरोप कैदीबन्दीको आरोप छ । विवादकै क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका थिए ।

थुनिएका कैदीहरूलाई प्रहरीले काराागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ । उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएका छन् ।

‘कारागार भित्र होहल्ला भएपछि हामीले चौकीदारसहित १४ जनालाई बाहिर निकालेर राखेका छौँ,’ जेलर पोखरेलले भने, ‘१४ जनालाई बाहिर निकालेपछि कारागारभित्रको माहोल शान्त भएको छ । १४ जनाको हकमा भित्र बस्ने बातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी गरिएको छ ।’ १४ जनालाई कुन कारागारमा पठाउने निर्णय भने भइनसकेको उनले बताए ।