April 17, 2026, Friday
२०८३ बैशाख ४

एमसिसी नेपालकै कानुनको अधिनमा रहेर पारित हुन्छ : प्रधानमन्त्री देउवा

धनगढी कार्तिक ५ (ई-रैवार)

बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालको कानुनको अधिनमै रहने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमणका क्रममा धनगढी पुगेको अवसरमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘त्यस(एमसिसी)मा केही छै–छैन, यसका विषयमा झुठा प्रचार गरिया छ ,’ उनले भने,‘वल्र्ड बैंक, एसियन बैंकहरुले दिएको ऋण अन्तर्राष्ट्रिय कानुनअनुसार हुन्छ । यो ऋण होईन् अनुदान हो । त्यसैले नेपालकै कानुनको मातहतमा हुन्छ ।’ यसबारे एमसिसीले नै नेपालको कानुनको मातहतमा रहने कुरा स्विकार गरिसकेको उनले बताए । उनले भने,‘उनीहरुले पनि भनिसके नि नेपालकै कानुनको अधिन हुन्छ भनेर । नेपालको कानुन माथि हुन्छ । यो तल हुन्छ भनेर । ’

पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले बाढी–पहिरो पिडितलाई सरकारले तत्काल उचित राहतको व्यवस्था गर्ने बताए । ‘प्रारम्भिक निर्णय भइसकेको छ । अब पिडितसमक्ष यथासिघ्र पुग्छ,’ उनले भने ।

वैशाखयता नै देशलाई कोरोनाको जोखिमबाट मुक्त गर्न सरकार लागि परेको प्रधानमन्त्री देउवाले बताए । त्यसका लागि सबै नागरिकलाई चैत भित्र खोप लगाईसक्ने सरकारको तयारी रहेको बताउदै उनले भने,‘हामीले गरेको काम देखेर डब्लुएओले समेत धन्यवाद दिईसक्यो । बेलायतले अब नेपाली नागरिकका लागि भिसा खुल्ला गरिसक्यो ।’

‘अर्ली इलेक्सन’ बारे सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार रहेकोले गठबन्धनमा छलफलपछि मात्रै निर्णयमा पुग्न सकिने बताएका छन्।  उनले भने, ‘ बैशाखमा गर्ने कि कहिले गर्ने ? गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन । गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि केही दिन अगाडि अर्ली इलेक्सनको कुरा गरेका थिए । अर्ली इलेक्सनको बहस चले पनि बैशाख अघि स्थानीय तहको चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता छ ।

साथै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको १४ औं महाधिवेशन प्रक्रिया अगाडि बढिरहेको पनि बताए। महाधिवेशन सर्नेबारे सोधिएको प्रश्नमा देउवाले यसबारे आफूलाई भन्दा निर्वाचन समितिलाई थाहा हुने जवाफ दिएका छन्।

प्रधानमन्त्री देउवाले बाढीपहिरो र डुबानपीडितलाई तत्काल उद्धार गरिने र राहत दिइने बताए। तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने प्रधानमन्त्री देउवाको भनाइ थियो।

प्रधानमन्त्री देउवा आज कञ्चनपुरका बाढी पीडितको अवस्था बुझ्न धनगढीबाट हिँडेका छन्। कञ्चनपुरपछि उनी कैलालीको पूर्वी क्षेत्र टीकापुर जाने कार्यक्रम रहेको छ।

सुदुरपश्चिमका विभिन्न जिल्लाको निरीक्षण गरेका देउवा शुक्रबारै बर्दिया जादैछन्। प्रधानमन्त्री देउवासहितको टोली बिहीबार हेलिकप्टरमार्फत सुदुरपश्चिम क्षेत्र निरीक्षण गर्न आएको हो।

प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर लगायत सहभागी छन्।

भिडियो हेर्नुहोस्