मौसममा सुधार संगै बझाङ र बैतडीमा उद्धारका लागि सेनाको हेलिकोप्टर परिचालन

धनगढी, कात्तिक ३ (ई-रैवार)
बझाङमा र बैतडीमा उद्धारका लागि सेनाको हेलिकोप्टर हेलिकोप्टर परिचालन हुने भएको छ । बझाङको थलारा गाउँपालिका–४ दिख्ला गाउँमा मंगलबार विहान ४ बजे पहिरो जाँदा एकै परिवारका १८ सहित २३ जना वेपत्ता भएको विषयमा नेपाली सेनाको हेलिकोप्टर परिचालन हुने भएको हो ।

यस्तै बैतडीको सिगास गाउँपालिका– ५ ढुंगाडस्थित सेती नदी किनारमा रहेका १० घरका ६० जना पनि उद्धारको पर्खाइमा रहेको वडाअध्यक्ष रामबहादुर धामीले बताएका छन् । सो क्षेत्रमा समेत हेलिकोप्टर जाने सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बताएकी छन् ।
आइतबार, सोमबार र मंगलबारका तुलनामा बुधबार विहानैदेखि आकाश खुलेकोले उद्धार कार्य गर्न सहज हुने अनुमान गरिएको छ । मंगलबार रातिपछि पानी पनि परेको छैन ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता विक्रमबहादुर चन्दका अनुसार पहिरो गएर गाउँबासी वेपत्ता भएको खवर आएपछि तीन तिरबाट प्रहरी परिचालन गरिएको छ ।





प्रतिकृया दिनुहोस्