April 25, 2026, Saturday
२०८३ बैशाख १२

सञ्चार सुचारु गर्न हेलिकोप्टरमार्फत सोलार ढुवानी

दार्चुला, असोज २० (ई-रैवार)

एक वर्षदेखि सञ्चारविहीन बनेको कालापानी नजिकको गाउँ ब्यास गाउँपालिका–१ छाङरुमा रहेको स्काई टावर सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ । छाङरुस्थित स्काई टावर सञ्चालनका लागि नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङ मंगलबार हेलिकोप्टरमार्फत् छाङरु पुग्नुभएको छ ।

टावर सञ्चालनका लागि विद्युत अभाव रहेको र सोलार प्यानल ढुवानी गर्न उपयुक्त बाटोको व्यवस्था नरहेको अवस्थामा व्यासमा चामल ढुवानी गर्न आएको हेलिकोप्टरमार्फत् नेपाल टेलिकम दार्चुलासँग रहेका १६ थान सोलार प्यानल समेत ढुवानी गरिएको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले जानकारी दिनुभयो । विद्युत अभाव र उपकरणमा समस्या देखिएर अवरुद्ध बनेको टावर मर्मत गरेर छाङरु र तिङकर गाउँमा स्काई फोन सेवा सुचारु हुने उहाँको भनाइ छ । व्यास क्षेत्रमा रहेको स्काई टावरमा हिमपातका कारण एक वर्ष पहिले क्षति पुगेको थियो ।

कालापानी नजिकको गाउँ छाङरु र तिकंरका स्थानीयबासीन्दा सञ्चार सम्पर्क विहीन रहेका छन् । केही महिना पहिले टावर मर्मत गरिएको भए पनि विद्युत अभावमा राम्रोसँग काम नगरेकाले सोलार जडानपछि सञ्चार सेवा सुचारु हुने नेपाल टेलिकम दार्चुलाले जनाएको छ । व्यासको वडा नम्बर १ का स्थानीयहरु छ महिना गाउँमा र हिमपात हुनेछ, महिना दार्चुला सदरमुकाम खलंगामा बसोबास गर्दै आएका छन् ।

धुलिगडामा टेलिकमको नयाँ टावर सञ्चालन

दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडाबाट नेपाल टेलिकमको नयाँ टावर सञ्चालनमा आएको छ । भौतिक निर्माण र उपकरण जडानको काम सम्पन्न भएपछि धुलिगडास्थित टेलिकमको नमस्ते टावर सञ्चालनमा आएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो । अहिलेसम्म धुलिगडाका अधिकांस क्षेत्रका नागरिक फोन र इन्टरनेट सेवाको पहुँच बाहिर थिए । नयाँ टावर सञ्चालनमा आएसँगै झण्डै एक हजार घरधुरी प्रत्यक्ष लाभांवित भएको स्थानीय भानसिंह धामीले बताउनुभयो ।

धुलिगडा टावरमा तत्काल टु जि सेवा सञ्चालन गरिएको र दशैंपछि फोर जि बिटिएर जडान गरिने टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो । नौगाड गाउँपालिकामा पछिल्लो समय सञ्चार सेवामा सुधार हुँदै गएको छ । केही महिना पहिलेदेखि सिप्टी टावरबाट समेत फोर जी सेवा सुचारु गरिएको टेलिकम दार्चुलाले जनाएको छ ।

अधिकांस स्थान वादल लाग्दा सञ्चारविहीन

दार्चुलाको अधिकांस स्थानमा सोलारबाट सञ्चालित टेलिफोन टावरहरुले राम्रोसँग सेवा प्रवाह नगरेको गुनासो बढ्दै गएको छ । अपिहिमाल, मार्मा, लेकम, दुहुँ, व्यासलगायत स्थानीय तहका अधिकांस स्थानमा बादल लागेको बेला र रातिको समयमा टेलिफोन टावरले काम नगर्ने गरेको स्थानीय सेवाग्राहीको गुनासो छ । सञ्चारको युगमा दार्चुलावासीले घाम लागेको समयमा मात्रै टेलिफोन टावरले काम गर्ने र अरु समयमा सञ्चार सम्पर्क विच्छेद हुनुपर्ने वाध्यता रहेको लेकमका स्थानीय अनिल परियारले बताउनुभयो ।

सञ्चार सेवा सुधारका लागि विद्युतिकरण सबै टावरहरुसम्म हुनु अनिवार्य रहेको टेलिकम दार्चुलाले जनाएको छ । केही टावरहरुमा सोलार सिस्टम थप गर्ने र विद्युतिकरण गर्ने काम भइरहेको टेलिकम दार्चुलाका प्रमुख गुरुङको भनाइ छ । फोन सेवाले समेत राम्रोसँग काम नगर्ने ग्रामिण क्षेत्रका नागरिक इन्टरनेटको पहुँच बाहिर रहेका छन् । दार्चुलामा दुई दर्जन बढी नेपाल टेलिकमका टावर रहेकोमा अधिकांस सौर्य उर्जाको भरमा सञ्चालित छन् । गोरखापत्र अनलाइनबाट