April 24, 2026, Friday
२०८३ बैशाख १२

प्रशासनले भन्यो- दुई देशको सम्बन्धमा खलल पुग्ने गरी समाचार नलेखौं, ‘एसएसबीले तुइन काटेको पुष्टि भएको छैन’

धनगढी,साउन १६ (ई-रैवार)

जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा बेपत्ता भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रशासनले शनिबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको भनी समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सीमा सुरक्षा बल एसएसबीले नै तुइन काटिदएको भन्ने पुष्टि भइनसकेको भनी प्रकाशन भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले विज्ञप्ति जारी गरी घटनाको वास्तविकता छानविन भइरहेको जनाएकी छिन्।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले सत्य तथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पार्ने कुनै पनि किसिमका तथ्यहीन, भ्रामक समाचार र सूचना प्रकाशन नगरी दिन अनुरोध गरेकी छिन्।

घटनास्थलमा सशस्त्र प्रहरी, जिल्ला प्रहरी दार्चुला र राष्ट्रिय अनुसन्धान कार्यालयको टोली खटेर गएको र हालसम्म कुनै औपचारिक जानकारी आइनसकेको उनले बताएकी छिन्। विज्ञप्तिमा घटना सम्बन्धमा वास्तविक सत्य-तथ्य जानकारी गराई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिसकिएको र सो घटना अनुसन्धान, छानविनको क्रममा रहेको उल्लेख छ।

खलंगा आउने क्रममा व्याँस गाउँपालिका-२ मालका ३३ वर्षीय धामी तुइनबाट तर्दै गर्दा शुक्रबार महाकाली नदीमा खसेर बेपत्ता छन्। उनको अवस्था अज्ञात छ। प्रशासनले घटनास्थलमा सशस्त्र प्रहरी बल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलमा खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका थिए। उक्त खबर प्राप्त भएलगत्तै गृहमन्त्रालयले घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।