April 29, 2026, Wednesday
२०८३ बैशाख १६

देउवालाई भाग्यले जुराएकाे अवसर : सकारात्मक नजरबाट गम्भीर अपेक्षा

शेरबहादुर देउवाको पाँचौँ पटकको सत्तारोहणलाई नेपालको लोकतान्त्रिक इतिहासमा एक रोचक सन्दर्भका रूपमा हेर्न सकिन्छ । देउवा यसपटक सत्ता लोलुपताको शृङ्खलाबाट मुलुकको प्रमुख कार्यकारीको कुर्सीमा पुगेका होइनन् । राजनीतिमा लागिरहेपछि समयले सुम्पने जिम्मेवारीका रूपमा यसपटक उनलाई प्रधानमन्त्री पद आइलागेको छ । त्यसैले सर्वसाधारणमा उनीप्रति यतिबेला सहानुभूति धेरै छ, अनि सकारात्मक नजरबाट केही गम्भीर आशा-अपेक्षा राखिएको पाइन्छ ।

उनको आफ्नो बलबुताबाट भन्दा पनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको असफलताबाट आइलागेको प्रधानमन्त्रीको पदलाई देउवाले कसरी सदुपयोग गर्छन्, त्यसैमा उनको यो पछिल्लो सत्तारोहणको सान्दर्भिकताको पुष्टि हुने छ । विगतमा उनले पाएका चार वटा अवसर राम्रोसँग सदुपयोग हुन नसकेको यथार्थ छर्लङ्ग छ । तर पनि इतिहासको अर्को सङ्कटको मोडमा उनको नेतृत्व निर्बाध स्थापित भयो ।

जसरी माघ, २०६१ पछि गिरिजाप्रसाद कोइरालालाई सारा नेपाली जनताको केन्द्रविन्दु बन्ने सौभाग्य जुटेको थियो, त्यसैगरी ओलीराजबाट मुक्ति खोजिरहेको नेपालले विकल्पमा देउवालाई निर्बाध स्थापित गरिदियो ।

केपी ओलीले इतिहासमा पाएको अपूर्व अवसरलाई फालेनन् मात्रै, सारा जिन्दगीभर गरेको सङ्घर्षको आफ्नाे इतिहासलाई पनि धमिलो बनाएर गए । जनताबाट निर्वाचित शासक कसरी अधिनायकवादी र निरङ्कुश हुन्छ भनेर खोज्न अब विश्व इतिहासका अरू उदाहरणतर्फ लाग्नुनपर्ने भयो ।

नेपालमा ७० वर्ष लामो सङ्घर्षबाट स्थापित राजनीतिक प्रणाली सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री थिए- ओली । उनको काँधमा यो नयाँ प्रणालीलाई स्थापित गर्ने, लोकप्रिय बनाउने र भावी राजनीतिलाई दिशाबाेध गर्ने उच्च नैतिक संस्कारको जग बसाइदिने दायित्व थिए ।

तर उनले ठिक उल्टो व्यवहार गरे । त्यसैले सर्वोच्च अदालतबाट संविधानविरुद्ध पटकपटक दुस्साहसी काम गरेको प्रमाणित भएर गलहत्याइए । उनको निधारमा संविधान मास्ने खराब शासकको कलङ्कको टीका लाग्यो । लोकतन्त्र विरोधी, भ्रष्ट र अक्षम भएको दाग उनीमाथि लागेकै छ, कम्युनिस्ट पार्टीको उज्ज्वल इतिहासलाई सङ्कटापन्न गराएको अभियोग पनि उनीमाथि लागेको छ । मूलतः कम्युनिस्ट पार्टीको भाँडभैलो, टुटफुट र घात-प्रतिघातको उथलपुथबाट ओलीयुगको अवसान भएको छ ।

शेरबहादुर देउवा भाग्यमानी नेता मानिन्छन् । तर एकपटक पनि निर्वाचित बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री बन्न उनले सकेका छैनन् ।

शेरबहादुर देउवा भाग्यमानी नेता मानिन्छन् । तर एकपटक पनि निर्वाचित बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री बन्न उनले सकेका छैनन् । २०५२ मा अदालतको फैसलाबाट प्राप्त अवसरबाट नै उनी पहिलोपटक प्रधानमन्त्री हुन पुगेका थिए । त्यसपछिका तीन वटै अवसर उनलाई दलहरूभित्रको कचिङ्गलबाट मात्र प्राप्त भएको हो ।

तेस्रो अवसर त राजाको कृपाबाट प्राप्त भएको थियो । एउटा लोकतन्त्रवादी नेताका निम्ति निर्वाचनबाट स्पष्ट जनादेश पाएर शासनको बाग्डोर सम्हाल्न पाउनु खासमा गर्वको विषय हो । जनअनुमोदित नेताका रूपमा शासनमा रहँदा जुन नैतिक र राजनीतिक शक्तिको प्रयोग गर्न सकिन्छ, त्यो अवसर देउवाले पाएका छैनन् । प्रायः सबै पटक उनी दलहरूको खिचडी सरकार चलाउन मात्र नेतृत्वमा पुगेका छन् ।

यसपटक त झन पाँच दलीय गठबन्धन्धनको सरकार हो यो । माधव नेपाल पक्षीय नेकपा एमाले प्रत्यक्ष रूपमा मन्त्रिमण्डलमा नजाला, तर शासन चलाउने साँचोको हिस्सेदार माधव नेपाल रहिरहने छन् । यस्तो मिलीजुली सरकारका सीमाहरू निकै सीमित रहन्छन् । जनअपेक्षा समयमा सम्बोधन गर्न यस्तो सरकारलाई निर्णय लिन निकै कठिन हुन्छ ।

ओली युगको अन्त्यसँगै देउवा नेतृत्वको गठबन्धनलाई प्राप्त विरासत निकै फोहोर, जेलिएका समस्याले ग्रस्त र छोटो पनि छ । पूरा गर्नुपर्ने दायित्वका पहाड छन् । क्षतविक्षत भएको संविधानलाई ठिक बाटोमा फर्काउनु छ । लोकतन्त्र र संविधानवादलाई आघात पुर्‍याइएका अनेक निर्णय खारेज र सच्याउनुपर्ने छ ।

अर्कातर्फ कोभिड महामारीको व्यवस्थापनमा भएका कमजोरीहरू सुधार्नु छ । सामान्य अवस्थामा होइन, एकातर्फ कोभिड महामारीको दोस्रो लहरले सिर्जना गरेको सन्त्रास, अर्कातर्फ बाढीपहिरो जस्ता विपद्को लहरका बीचमा सत्तामा पुगेको देउवा सरकारका अगाडि सम्बोधन गर्नुपर्ने विषयहरूको सूची निकै लामो छ ।

साथै राजनीतिक व्यवस्थापनको चुनौती अत्यन्त संवेदनशील छ । सङ्घदेखि प्रदेशसम्मको सरकारमा फैलिएका अस्थिरताको कम्पनलाई स्थायित्व दिनमा नै नेताहरूको ध्यान सीमित हुनपुग्यो भने यो सरकारले सुधारतर्फ योगदान गर्न सक्दैन । देशमा आशाको सञ्चार गराउन र संविधानविपरीत भएका कामलाई सुधार गर्न नसके सरकारको वैधतामाथि छिट्टै प्रश्न खडा हुने छ ।

देउवाको  कार्यशैलीमा व्यापक फेरबदलको खाँचो छ । उनले शासनलाई सहज बनाएर सीमित सरकारको अभ्यासलाई कार्यान्वयनमा ल्याउन सके भने मात्रै समाजले सहजता महसुस गर्ने छ ।

कमजोर राजनीतिक वैधता भएको सरकारले आफूलाई बलियो बनाउने नै जनता खुसी पारेर आर्जन गर्ने समर्थनबाट हो । देउवाको  कार्यशैलीमा व्यापक फेरबदलको खाँचो छ । उनले शासनलाई सहज बनाएर सीमित सरकारको अभ्यासलाई कार्यान्वयनमा ल्याउन सके भने मात्रै समाजले सहजता महसुस गर्ने छ ।

सरकारको शैली राज्य र समाजमाथि अति हस्तक्षेप गर्ने, नियन्त्रण, निषेध र भयको शैलीलाई निरन्तर राखेमा ओलीयुगको अन्त्य भएको सन्देश जाँदैन । ओली यस्ता शासक भए- उनको छाया राज्य र समाजका हर मामिलामा ‘डोमिनेटिङ’ रह्यो । फलस्वरूप उनले लोकप्रियताको वास्तविक जनाधार गुमाए र आफ्नाे दलको आफ्नै गुटको देवता मात्र बन्न पुगे । देउवाका लागि यो राम्रो शिक्षाको स्रोत हो ।

देउवाको स्वभाव ओलीको जस्तो सबैतिर कमान्ड गर्ने खालको त छैन । उनी सहज सम्झौतावादी चरित्रका नेता हुन् । जनतासँग सरल सञ्चार गर्ने क्षमता उनमा नभएकाले उनलाई बुझ्न अप्ठ्यारो छ । लोकतन्त्रमा जनतासँग छलकपट र दम्भरहित सरल सञ्चार र संवाद गर्ने नेता युगको खोजी हो ।

देउवाले जनतासँग निष्कपट संवाद गर्ने संयन्त्र बनाउन सके र आफ्नाे एकान्तमुखी स्वभावलाई सरकारको सेवा प्रवाहको क्षमता बढाउनमा केन्द्रित गरे भने त्यसले सकारात्मक परिवर्तनमा सहयोग पुग्छ । तर यसका लागि देउवाको बुर्जुवा सर्कल बाधक बन्न सक्छ र त्यसले सरकारलाई सुशासनको क्षेत्रमा फड्काे मार्न नदिन सक्छ ।

आजको चिन्ता लोकतान्त्रमाथि थप आघात नपुगोस् र देशले स्वाभाविक गतिमा स्थानीय, प्रदेश र सङ्घीय तहको दोस्रो निर्वाचनको सर्कलमा सहजतापूर्वक पुग्न पाओस् भन्ने हो । यस दिशामा देउवा सरकराको निगरानी र परीक्षण निरन्तर भइरहनु पर्छ । लोकतन्त्रका संस्थाहरू सबल र सक्रिय बन्दै जानु तथा निगरानी र नियन्त्रणको संरचनालाई कसिलो बनाउनमा ध्यान जानुपर्छ ।

(दाहाल नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुन् ।)

कोसी अनलाइनबाट