June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना कारागार चलान

सुर्खेत, असार १६ (ई–रैवार)

राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना कारागार चलान भएका छन् । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप अभियोग लागेका तीन जनालाई बुधबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएका हुन ।

अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । युवाहरूले राउटे समुदायकी १९ वर्षीय र २३ वर्षीय युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।  त्यसलगत्तै उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनाविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो । गत जेठ २१ गते राति उनीहरुले १९ र २३ वर्षीया राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते प्रहरीले पक्राउ गरेको थियो ।

फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए । यो घटना हुँदा उनीहरू गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए । अहिले उनीहरू त्यो ठाउँबाट सल्यान बसाइँ सरेका छन् ।

फाइल तस्वीर :