माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार, दुईजना घाइते

कपिलवस्तु, जेठ ६ (ई-रैवार)
कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) का नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका हुन ।
गोली लागेर कपिलवस्तु घर भएका ३५ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले बताएका छन् ।
कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । भारत घर भएका वर्ष ३६ को अयाज अख्तर मुसलमानले मोटरसाइकल चलाएका थिए । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।
दिपक पाण्डे सहित ३ जना लु।९प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका हुन् ।
निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको डीएसपी भण्डारीले बताए । गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।





प्रतिकृया दिनुहोस्