डोटी अस्पतालका भेन्टिलेटर र आइसीयू प्रयोगविहीन

डोटी, वैशाख २५ (ई-रैवार)
डोटी जिल्ला अस्पतालमा जडान गरिएका दुईवटा भेन्टिलेटर र आइसीयू शय्या पाँचवटा प्रयोगविहीन अवस्थामा छन् । कोरोना सङ्क्रमण भएका सङ्क्रमितहरू भेन्टिलेटर र आइसीयूकोे खोजीमा तड्पिइरहेका बेला जिल्ला अस्पतालका भेन्टिलेटर र आइसीयू शय्याहरू प्रयोग नहुँदा बिरामीका आफन्तहरु आक्रोशित भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले पहिलो चरणको कोरोना महामारीका बेला भेन्टिलेटर र आइसीयू शय्या उपलब्ध गराएको थियो । प्रदेश सरकारको लगानीमा यहाँ भेन्टिलेटर र आइसीयू जडान गरिएको वर्ष दिन बितिसक्दासमेत अस्पतालमा जडान भएका आइसीयू र भेन्टिलेटर प्रयोगमा आउन सकेका छैनन् । दक्ष जनशक्ति अभाव र अक्सिजन प्लान्ट नबनेका कारण ती उपकरण सञ्चालनमा आउन नसकेको जिल्ला अस्पतालले दाबी गरेको छ ।
अस्पतालमा पछिल्लो समय आठ जना कोरोना सङ्क्रमित अक्सिजनको भरमा उपचारमा छन् । उनीहरूलाई जुनसुकै बेला भेन्टिलेटर वा आइसीयू आवश्यकता पर्न सक्ने कोरोना फोकल पर्सन राजेन्द्र फुलाराले जानकारी दिए । आइसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउन अस्पतालका तर्फबाट हालसम्म पहल भएको स्थानीयवासीको आरोप छ ।अस्पतालमा एक जना भेन्टिलेटर सञ्चालन गर्ने चिकित्सक भए पनि पूर्णरूपमा सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव रहेको सूचना अधिकारी अमर भट्टले बताए ।
उनले भने , “भेन्टिलेटर सञ्चालन गर्ने चिकित्सक छन् तर पूर्णरूपमा सञ्चालन गर्ने जनशक्ति नभएका कारण चलाउन सकिएको छैन, हामी दक्ष जनशक्तिको पूर्ति गर्दैछौँ, आएपछि सञ्चालन हुनेछन् ।” बिरामीलाई तत्काल भेन्टिलेटरमा राख्ने अवस्था आए राख्न सकिने उनको भनाइ छ ।
कोरोना सम्पर्क व्यक्ति फुलाराले अस्पतालमा उपचार भइरहेका केही बिरामीलाई भेन्टिलेटरको आवश्यकता रहेको र अन्यलाई जुनसुकै अवस्थामा आवश्यकता पर्न सक्ने स्थिति रहेको बताए । उनले भने, “उपचार भइरहेका कोरोनाका केही बिरामीलाई भेन्टिलेटरको आवश्यकता रहेको, अन्यको हकमा पनि भेन्टिलेटर चाहिने सम्भावना छ, भेन्टिलेटर सञ्चालन छैन, सञ्चालन गर्ने कोसिस हुँदैछ ।” भेन्टिलेटरको आवश्यकता भएका व्यक्तिलाई अन्यत्र पनि शय्या अभाव भएका कारण अक्सिजनमै राख्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्तिका लागि आह्वान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।“कोरोना सङ्क्रमित बिरामीको अवस्थालाई हामीले निकै संवेदनशीलरूपमा हेरेका छौँ, अस्पतालमा भएका आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्तिको माग गरेका छौँ, चाँडै सञ्चालनमा ल्याउनेछौँ ।” उनले भने।
उता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जनशक्ति अभाव भयो भन्दै महामारीका बेलामा जिल्ला अस्पतालमा रहेका आइसीयू र भेन्टिलेटर सञ्चालन नगरेर बन्द अवस्थामा राख्न नहुने बताए । उनले भने, “आइसीयू र भेन्टिलेटर सञ्चालन गर्नमा जिल्ला प्रशासनले के सहयोग गर्नुपर्छ, हामी तयार छौँ, कोरोना महामारीको बेलामा उपकरण बन्द गर्न मिल्दैन, जिल्ला अस्पतालले जनशक्ति खोजेर भए पनि आइसीयू र भेन्टिलेटर सञ्चालन गर्नु आवश्यक छ ।”
यति मात्र नभई कोरोना सङ्क्रमणले जिल्लामा जटिल स्वास्थ्य समस्या भएका सङ्क्रमित बढ्दै गएपछि अक्सिजनको पनि अभाव भएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि अहिले अस्पतालले कैलाली र डडेल्धुरा जिल्लाबाट अक्सिजन मगाउनुपर्ने बाध्यता रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक तेजविक्रम शाहीले जानकारी दिए ।
उनका अनुसार जिल्ला अस्पतालसँग ३० ठूलो र १५ सानो गरी जम्मा ४५ वटा अक्सिजन सिलिण्डर छन् । तीमध्ये १५ सानो र पाँचवटा ठूलो गरी २० वटा सिलिण्डर मौज्दात छन् भने १० वटा ठूला सिलिण्डर प्रयोग (सकिने अवस्था)मा छन् । अक्सिजन नभएका कारण १५ सिलिण्डर भने खाली रहेका छन् ।
अहिले अक्सिजन उत्पादन हुने सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमै अक्सिजन उत्पादन कम भएका कारण जिल्लामा अक्सिजनको आपूर्तिमा समस्या भएको बताइएको छ । जिल्लामा बिरामी बढ्दै गएको खण्डमा अक्सिजनको पनि अभाव हुने सम्भावना रहेको अस्पतालका स्वाथ्यकर्मी बताउँछन् । रासस





प्रतिकृया दिनुहोस्