March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

प्रियङ्काको आत्मकथा : बरेलीको सानो बस्तीदेखि हलिउडसम्म

एजेन्सी, कार्तिक ६ (ई-रैवार)

बरेलीको सानो बस्तीकी युवतीदेखि मिस वर्ल्ड, फोब्र्सका १ सय शक्तिशाली महिलाको सुची, आफ्नै म्युजिक एल्बम र बलिउड तथा हलिउडसम्मको करियरलाई समेटेर प्रियङ्का चोपडाले आफ्नो आत्मकथा लेखेकी छिन् । आत्मकथा लेखन समाप्त भएपनि यसको शीर्षकबारे टुंगो लाग्न बाँकी छ ।

यस आत्मकथामा यी अभिनेत्रीले आफ्नो वर्षौको संघर्षबारे लेखेकी छिन् । आफुुबारे समाजले बनाएका धारणा र आफ्नै धारणालाई समेटेकी छिन् ।

‘सानो बस्तीकी युवतीका रुपमा ठूला सपना देख्ने छुट थिएन,’ उनले आत्मकथाबारे भनेकी छिन् । १८ जुलाई १९८२ मा झारखण्डको जम्सेदपुरमा प्रियङ्काको जन्म भएको थियो । बाबु अशोक चोपडा र आमा मधु भारतीय सेनामा चिकित्सक भएकाले प्रियङ्काले बाल्यकालमा  दिल्ली, चन्ढीगढ, बरेलीलगायत शहरमा अध्ययन गरिन् । त्यसपछि उनी केही समय अमेरिका गएर बसिन् ।

सन् २००० मा १८ वर्षको उमेरमा उनले मिस वर्ल्डको उपाधि जितेकी थिइन् । २००३ मा प्रदर्शनमा आएको ‘द हिरो–लभ स्टोरी अफ अ स्पाई’ उनको पहिलो बलिउड फिल्म थियो । त्यही वर्ष रिलिज भएको अन्दाज र मुुझ से सादी करोगी हिट भए, जहाँ प्रियङ्का मुख्य भूमिकामा थिइन् । २००६ मा उनी अभिनित क्रिस र डन दुुबैले बलिउडमा निकै राम्रो आम्दानी गरे ।

कमिने, बर्फी, मेरी कोम, बाजिराव मस्तानीलगायत फिल्ममा उनले गरेको अभिनयको निकै प्रशंशा भएको थियो । प्रियङ्काले एकपटक राष्ट्रिय फिल्म अवार्ड र पाँचपटक फिल्म फेयर अवार्ड जितिसकेकी छिन् । प्रियङ्काले एबीसीमार्फत प्रशारण हुने थ्रिलर ‘क्वान्टिको’ मा अभिनय गरेपछि विश्वव्यापी चर्चा बटुलिन् । उनले हलिउड कमेडी ‘बे वाच’ र ‘इजन्ट इट रोमान्टिक’ मा सहायक भूमिका निभाएकी थिइन् ।

सन् २०१६ मा भारत सरकारले उनलाई पद्म श्रीबाट सम्मानित गरेको थियो । त्यही वर्ष उनलाई टाइम म्यागेजिनले विश्वका १ सय अति प्रभावशाली व्यक्तित्वको सुचीमा राख्यो । दुई वर्षपछि फोब्र्सले उनलाई विश्वका १ सय शक्तिशाली महिलाको सूचीमा राखेको थियो ।