धनगढी जुगेडा असई हत्या प्रकरणमा ११ जना शंकास्पद पक्राउ

धनगढी, कार्तिक २ (ई-रैवार)
कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु रहेका छन् । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको बताए ।
सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी अनुसार पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको छ । ‘हालै मृतक विकको शव पनि निकालिएको छ, धारिलो हतियार प्रहार गरेर हत्या भएको हुनसक्ने देखिएको छ’, उनले भने, ‘विस्तृतमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने छ ।’
विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिएका छैनन् । नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ, नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको छ ।
असई विकले अस्थायी प्रहरी बिट धनगढी उपमहानगरपालिका—१२ जुगेडाको नेतृत्व गरिरहेका थिए । प्रहरी बिटबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजे देखि सम्पर्क बिहिन भएका थिए ।
आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीव तीन किमीको दूरीमा रहेको मोहना नदीमा लाश फेला परेको थियो ।





प्रतिकृया दिनुहोस्