सुदूरपश्चिम प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

धनगढी, असोज २० (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ सय ७८ जनाको कोरोना परीक्षण भएकोमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्वर १ र ३ का ५– ५ जना, वडा नम्वर ८ का २ जना, वडा नम्वर ५ र १६ का १–१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
लम्की चुहा नगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका २ जना र कञ्चनपुरको बेलौरीका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। उनका अनुसार सेती प्रादेशिक अस्पतालमा अहिले ८ महिला र १४ पुरुष गरी २२ जना संक्रमितको उपचार भईरहेको छ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८४ जनाको कोरोना परीक्षण भएकोमा ६ जनामा संक्रमण पुष्टि भएको हो।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ८१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म सुदूरपश्चिम प्रदेशका कैलालीका २ हजार ६ सय ९२, डोटीका १ हजार १ सय ७ , अछामका १ हजार ८१, कञ्चनपुरका ८ सय ७४ र बाजुराका ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बझाङका ५ सय ९५, बैतडीका चार सय २४, डडेल्धुराका ३ सय ६० र दार्चुलाका १ सय १२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ६ हजार ६ सयले कोरोना जितेका छन्। २३ जना संक्रमितको मृत्यु भएको छ ।





प्रतिकृया दिनुहोस्