कांग्रेसका यी छायाँ प्रमुखः जो विपतमा जनतासंगै देखिए

डोटी भदौ १३(ई–रैवार)
कोभिड–१९को सन्त्रास व्याप्त थियो/छ । लकडाउनपछि सीमानाका खुल्दा भारतबाट हज्जारौँ नेपालीहरु भित्रिए । गाउँगाउँमा बनाईएका क्वारेन्टीनहरु खचाखच भरिए ।
यसरी भारतबाट आउनेहरु एककिसिमको ‘तिरस्कृत’ व्यबहार झेल्दै थिए । कुनै अपराधीलाई जस्तो !
उनीहरुसंग कोरोना संक्रमणको जोखिम जरुर थियो । तर, विज्ञहरुले तोकेका मापदण्डहरु पालन गर्दै दूरी कायम गरेर समेत कोही उनीहरुको सम्मुख परेनन् । स्वयम् जनप्रतिनिधीहरु पनि पाँचसयमिटरबाटै टाढिन्थे । ‘यस्तोमा साह्रै पिरलो हुन्थ्यो, आफ्नै देश फर्कदा पनि पराई महशुस हुन्थ्यो,’ यो समयमा भारतबाट फर्किएका युवा शेर साउँद भन्छन्,‘जनप्रतिनिधीहरुको व्यबहारले झन मन दुख्थ्यो ।’
यस्तोमा नेपाली कांग्रेसबाट दिपायल सिलगढी नगरपालिकाको मेयर पदका उम्मेदवार विजय खड्का जुनकिरीझैँ सचेतनाको दियो बनेर मैदानमा ओर्लिए । गाउँ÷नगरमा पराजित उम्मेदवारलाई कांग्रेसले ‘छायाँ प्रमुख’को उपमा दिएएको छ ।
उनै छायाँ प्रमुख खड्का आफ्नै व्यक्तिगत खर्चमा खाजा र केही थान स्वास्थ्य सामाग्री बोकेर क्वारेन्टीन चहार्न थाले । ‘उहाँहरुको मनमा राज्य र समुदायले तिरस्कार गरेकोजस्तो भान भईरहेको थियो,’ उनी भन्छन्,‘यसमा केही सहानुभूति र केही सचेतना जरुरी थियो । त्यही गर्ने प्रयास मैले गरे ।’
त्यसअघि भारतबाट आउने नागरिकहरुलाई राजमार्ग क्षेत्रमा भेट्दा उनीहरुको अनुभूति, आक्रोश र कुण्ठाले उनको मन छोएको थियो । ‘राज्य आफ्नो कर्तव्य भुलेको थियो । जसको रोषले हर युवालाई विक्षिप्त पारेको मैले देखे । त्यहीँ बेला मैले उनीहरुमा सहानुभूति र सचेतनाको आवश्यकता देखेको थिए,’ उनी सम्झन्छन् । त्यसपछि उनी दिपायल सिलगढी नगरक्षेत्रका सबैजसो क्वारेन्टीनमा माया, सद्भाव र सचेतनाका केही उपहारहरु बोकेर पुगे ।
यसरी पुग्दा उनी एक्लै गएनन् । संगै स्थानीय जनप्रतिनिधीहरु लगेर गए । टाढैबाट भाग्ने जनप्रतिनिधीलाई समेत भौतिक दूरी कायम गरेर जनप्रतिको उत्तरदायित्व बहन गर्न उत्प्रेरित गर्न लागे । ‘सामान्य तल्लो लेभेलको नेतृत्व गर्ने जनप्रतिनिधीहरु सचेतनाको अभावमा नागरिकको सम्मुख पर्न डराउथे । हामीले उहाँहरुलाई पनि कन्भिन्स गरेर जनतासमक्ष पु–यायौ,’ उनी भन्छन् ।
उनी यत्तिमै सीमित भएनन् । विपदमा छाक टार्न समस्या भईरहेका विपन्न, गरिब, असाहायका घरमा केही राहतसहित पुगे । राहत सामाग्री संकलन गरेर त्यसको संयोजन गर्दै स्थानीय सरकारहरु समक्ष पुगेर ती सरकारहरुलाई जिम्मेवारीका लागि झस्काईरहे ।
उनीजस्तै डोटीकै सायल गाउँपालिकाको अध्यक्ष पदमा पराजित कांग्रेसका उम्मेदवार धर्मराज जोशी भारतबाट नेपाल छिर्ने डोटीबासी खोज्दै सीमानाका पुगे । ‘सीमानाकामा हाम्रा दाजुभाईहरु भरिए । सरकारले स्थानीय सरकारको सीफारिसमा भित्र्याउने अनुमती दिँदा सायलका दाजुभाईको सुनुवाई नभएपछि मैले खबर पाए,’ उनी भन्छन्,‘त्यसपछि आफै सीमामा पुगेर उहाँहरु भित्र्याउने काम शुरु गरेँ ।’
त्यसक्रममा सीमामा भोँक र प्यासले तड्पिएका यात्रुहरुको अवस्थाले उनको मन छोयो । ‘अनि त्यहीँ खाजा, खाना र पानीको अभियानको सुरुवात ग–यौ,’ उनले भने ।
त्यसक्रममा उनी सीमामै बसेर हज्जारौँ नागरिकको उद्धारकार्यमा खटिए । उनीहरुलाई खाजा, खाना र पानीको व्यवस्थापन गर्नतर्फ जुटे । ‘शुरुमा आफ्नै लगानीमा शुरु गरेको हुँ । पछि केही मनकारीहरुले पनि सहयोग गर्नुभयो,’ उनी सम्झन्छन् । सायलका छायाँ प्रमुख जोशीले शुरु गरेको यो अभियान लकडाउन अवधिमा भारतबाट नागरिक भित्र्याईरहदा पछि अन्य मनकारी र स्थानीय सरकारहरुले समेत सिको गर्नथाले ।
बिपदको यो क्षणमा सायल गाउँबासीले भोगिरहेका दुखपीडामा पनि उनी निरन्तर सम्पर्कमा रहेर सम्बोधन गर्ने प्रयासमा जुटे । उनी भन्छन्,‘स्थानीय सरकारले राहत फिर्ता लिएका एकल महिलादेखी समस्यामा परेका अन्य नागरिकहरुका बिषयमा हामीले काम ग–यौ ।’
कोरोनाको विषम परिस्थिती र संक्रमणको जोखिमको अवस्थाबाट बच्न काम गर्ने क्रममा आफु बिलकुलै साबधानी अपानाएको दुबै नेताहरु बताउछन् । विश्व स्वास्थ्य संगठन र विज्ञले भनेका मापदण्डहरुबारे सचेत रहदै काम गरेको दुबैको भनाई छ ।
जनताको थोरै मतबाट निर्वाचित हुनचुकेपनि जनतासंगै रहेर काम गर्न पाउँदा खुशी भएको दुबै नेताहरु बताउछन् । ‘जीत–हार प्राबिधिक कुरा हुन् । मूल कुरा जनताको सेवा गर्ने अवसर हो,’ नेता जोशी भन्छन्,‘विषम परिस्थितीमा आफन्त, दाजुभाई, नातागोताहरुसंग माया र सद्भाव बाँड्ने मौका मिल्यो । यो निकै ठुलो कुरा हो ।’
यसक्रममा वास्तविक आफ्नो देश र समाज चिन्ने मौका मिलेको नेता खड्का बताउछन् । ‘हाम्रो देश, हाम्रो श्रमशक्ती, उर्जाशिल उमेर भारतमा रहेछ । उपेक्षित–उत्पिडित, दबिएर–चेपिएर उतै बस्न विवश रहेछ । यो कुरा आफ्नै आँखाले देख्ने मौका मिल्यो,’ नेता खड्का भन्छन्,‘जुन कुरा निर्वाचनमा वा अन्यबेला देख्न पाईएन् । बुझ्न पाईएन् ।’ कुनैदिन सरकारमा बसेर सेवा गर्ने मौका मिले यिनै युवाहरुको अनुहार हेरेर काम गर्ने उर्जा मिलेको उनी बताउछन् ।





प्रतिकृया दिनुहोस्