April 18, 2026, Saturday
२०८३ बैशाख ५

कोरोना रोकथामः ‘क्वारेन्टाईन’मा उकुसमुकुस !

डोटी चैत्र २४(ई-रैवार)
भूईँमा कार्पेट विछ्याईएको छ । त्यसमाथि म्याट छ । त्यसैमाथि लहरै दर्जनौ व्यक्ती पल्टीएका छन् । तीनजनासम्मले एउटै कम्मल ओढेका छन् । यो दृश्य आदर्श गाउँपालिकाको शारदा माध्यामिक विद्यालयको ‘क्वारेन्टाईन’को हो । जुन दृश्य आईतबार क्वारेन्टाईनमै रहेको आदर्श गाउँपालिका–५ लामिखालका नरेश नागरीले ‘फेसबुक लाईभ’मार्फत कैद गरेर पोष्ट्याएका छन् ।
विश्व नोवेल कोरोनाभाईरस(कोभिड–१९) को महामारीसंग जुझिँरहेका बेला मानिसहरु एकअर्कासंग नजिकिन डराईरहेका छन् । विज्ञहरुले पनि कम्तिमा तीनमिटरसम्मको दूरी कायम गर्न भनेका छन् । तर, संक्रमणको जोखिम न्युनिकरण गर्नका लागि प्रयोग गरिने विधि क्वारेन्टाईनमा भने यस्तो हविगत छ । त्यो पनि जोखिमको क्षेत्र(भारत)बाट यात्रा गरेर आएकाहरुलाई एउटै घानमा हालिएको छ ।
‘१४ दिन भयो । धन्न ऐलेसम्म कसैलाई खोकीसम्म लागेको छैन्,’ नागरीले ई–रैवारसंग कुरा गर्दै भने,‘नत्र त सबै एकै घानमा सकिन्थ्यौ ।’ शुरुमा बसाल्न ल्याउदा आफुहरु धेरै आत्तिएको उनले बताए । ‘कम्तीमा तिनमिटर टाढा बस्नुपर्छ । हात जोड्नुहुदैन् । खानपानमा सजग हुनुपर्छ भन्ने सुनेका थियौ । यहाँ पुग्दा त २५ जनासम्म एउटै कोठामा बस्नुपर्ने ! निकै डर लागेको थियो,’ उनले थपे ।
सो विद्यालयमा बनाईएको क्वारेन्टाईनमा ७२ जना राखिएका छन् । जसमा सात महिला र सात बालबालिका समेत छन् । महिला र बालबालिकालाई एउटै कोठामा राखिएको र बाँकीलाई तीन कोठामा राखिएको क्वारेन्टाईनमा रहेकाहरुले बताएका छन् ।
‘निकै उकुस–मुकुस हुन्छ । तीनचारजनाले एउटै कम्मल ओढ्नुपर्छ । तलपनि गतिलो बिस्तरा छैन,’ सोही ठाउँमा क्वारेन्टाईनमा रहेका आदर्श गाउँपालिका–२ साउँदकाँडाका विष्णु साउँदले भने,‘यहाँ त कोही एउटालाई मात्रै कोरोना भएको भए आए सबै सखाप हुन्छौ ।’
उनीहरुमध्ये अधिकांश चैत्र ११ गतेका गौरिफण्टाको नौ सय ९९ जनाको भिडमा रहेका व्यक्तीहरु छन् । जसमध्येका कैलालीका एक २१ वर्षिय युवामा कोभिड–१९ को पुष्टी भईसकेको छ ।
आदर्शको क्वारेन्टाईनको मात्रै होईन, जिल्लाका स्थानीय तहहरुले बनाएका अधिकांश क्वारेन्टाईनको अवस्था यस्तै छ । केहीले बिरोधपछि सुधार गर्ने प्रयास गरेका छन् । यद्यपी क्वारेन्टाईनहरु सतर्कताका दृष्टिकोणबाट मापदण्डअनुसार नभएको गुनासो व्यापक छ ।
शिखर नगरपालिकाको सिद्धेश्वर माध्यामिक विद्यालयमा बनाईएको क्वारेन्टाईनमा बसेकाहरुले पनि प्रारम्भमा कमजोरी रहेको गुनासो गरेका थिए । गुनासोपछि हाल केही सुधार गरेको क्वारेन्टाईनमा रहेका दीपक बलायरले बताए । ‘शुरुका दिनमा अलि व्यवस्थापन कम थियो । जसको डरलागेपछि हामीले गुनासो गरेका थियौ,’ उनले भने,‘अहिले सुधार भएको छ । सबै सामाजिक दुरी कायम गरेर बसेका छौ । एकअर्कासंग संक्रमण हुने बिषयमा सजग छौ ।’
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जिल्लामा सरकारले जारी गरेको क्वारेन्टाईनको निर्देशिकाअनुसार राख्न नसकेको स्विकार गरे । ‘निर्देशिकाले एउटा कोठामा एकजना बढीमा दुईजनासम्म राख्ने भनेको छ । चिकित्सकसहितको टोली र सुरक्षाकर्मीसम्मको व्यवस्था भनेको छ,’ उनले भने,‘जुन हाम्रो परिवेशमा सम्भव नहुने अवस्था भयो ।’ यद्यपी स्वास्थ्य संयन्त्रले सक्दो काम गरिरहेको उनले बताए ।
डोटीका नौ वटा स्थानीय तहमा हाल चार सय २१ जनालाई क्वारेन्टाईनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा बोगटान फुड्सील गाउँपालिकामा पाँचवटा क्वारेन्टाईन एकसय ४२ जना रहेका छन् । आदर्श गाउँपालिकामा ८१ जना, बडीकेदार गाउँपालिकामा ४५, जोरायल गाउँपालिकामा सात, पूर्वीचौकी गाउँपालिकामा दुर्ई, केआईसिंह गाउँपालिकामा १३, सायल गाउँपालिकामा २१, शिखर नगरपालिकामा ७६ र दिपायल सिलगढी नगरपालिकामा ३४ जना क्वारेन्टाईनमा छन् ।
स्वाँब संकलन हुने
डोटीका क्वारेन्टाईनमा रहेका भारतबाट आएका नागरिकहरुको नाक र गलाको स्वाँव परिक्षणका लागि मंगलबार संकलन हुने भएको छ । नेपाली सेनाको टोली काठमाण्डौंबाट आएर स्वाँब संकलन गर्ने जानकारी आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताए । ‘हेलिकप्टरबाट उहाँहरुको टोली आएर पाँच ठाउँमा बसेर लगभग दुई सय ५० जनासम्मको स्वाँब संकलन गर्ने जानकारी आएको छ,’ उनले भने ।