November 19, 2026, Thursday
२०८३ मंसिर ५

दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिम भिड्दै, फाइनल पुग्ने टोलीको टुंगो आज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।

फाइनल प्रवेशका लागि हुने निर्णायक खेलमा दुवै टोली दबाबमा छन्। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले दोस्रो अवसर पाएको हो। लुम्बिनीले सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य २० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

यता चितवनले बुधबार भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सकेको थियो।

चितवनको जितमा श्रीलंकाली ब्याटर कमिल मिसराको कीर्तिमानी शतक निर्णायक बन्यो। टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाउँदा मिसराले अविजित १२० रन बनाए।

मिसराले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गरे। उनको स्ट्राइक रेट २०३.३८ थियो। यससँगै उनले एनपीएल इतिहासमा एकै इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेका छन्। यसअघि यो कीर्तिमान कर्णाली याक्सका मार्क वाटको नाममा थियो, जसले ११४ रन बनाएका थिए।

चितवनले सुरुआतमा भने दबाब झेलेको थियो। ३.२ ओभरमा २२ रन हुँदा देव खनाल १७ र डेभिड मलान शून्यमा आउट भए। दुवै विकेट करण केसीले लिए। त्यसपछि मिसरा र कप्तान रवि बोपाराले तेस्रो विकेटका लागि १५४ रनको उत्कृष्ट साझेदारी गर्दै चितवनको इनिङ्स सम्हाले।

बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाए। विवेक यादवले ८ रन थप्दा कुशल मल्ल शून्यमा अविजित रहे। काठमाडौंका लागि करण केसी र राशिद खानले समान २ विकेट लिए।

२०५ रनको लक्ष्य पछ्याएको काठमाडौं भने चितवनको बलिङसामु टिक्न सकेन। रिजन ढकालले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए भने उस्मा मीरले १५ रन दिएर ३ विकेट हात पारे। कुशल मल्ल र सलाउद्दीन खानले समान एक विकेट लिए।

काठमाडौंका लागि विल बोसिस्टोले सर्वाधिक ३७ रन बनाए भने भीम सार्की १७ बलमा ३ छक्कासहित ३० रनमा अविजित रहे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा काठमाडौं १४३ रनमै सीमित भयो।

रिजन ढकाल जारी एनपीएलमा उत्कृष्ट लयमा छन्। उनले अहिलेसम्म १६ विकेट लिइसकेका छन् र सर्वाधिक विकेट लिने बलरको सूचीमा अग्रस्थानमा छन्।

अब चितवनका लागि कमिल मिसराको ब्याटिङ र रिजन ढकाल–उस्मा मीरको बलिङ मुख्य हतियार बन्नेछन् भने सुदूरपश्चिम पहिलो क्वालिफायरको हारबाट माथि उठ्दै फाइनल यात्रा तय गर्ने लक्ष्यमा हुनेछ।

आजको दोस्रो क्वालिफायरको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। लुम्बिनी भने पहिलो क्वालिफायर जित्दै यसअघि नै फाइनलमा पुगिसकेको छ।