October 17, 2026, Saturday
२०८३ कार्तिक १

‘अडियो बनावटी हो’ भन्ने खगेन्द्र सुनारलाई रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । विवादास्पद अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारलाई पार्टीको केन्द्रीय अनुशासन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

एक महिलासँग आपत्तिजनक शब्द प्रयोग गर्दै धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले घटनाको सत्यतथ्य छानबिनका लागि आन्तरिक प्रक्रिया अघि बढाएको हो।

आयोगका एक सदस्यका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो तथा त्यससँग सम्बन्धित विषयमा सुनारलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाइएको छ। उनका अनुसार सुनारको स्पष्टीकरण प्राप्त भएपछि त्यसका आधारमा थप प्रक्रिया अघि बढाइनेछ।

‘माननीय खगेन्द्र सुनारलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका छौँ । उहाँको स्पष्टीकरण आएपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,’ आयोगका एक सदस्यले भने।

सांसद सुनारले एक महिलालाई अश्लील गाली गर्दै धम्की दिएको तथा ब्ल्याकमेलिङ गरेको भनिएको अडियोसहितको समाचार सोमबार ‘जनआस्था’ले प्रकाशित गरेको थियो। त्यसपछि रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य अन्वेषण गर्न केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी दिएका थिए।

पार्टीले छानबिन अवधिभर सुनारलाई सार्वजनिक पदमा रहेर औपचारिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ। सुनार रास्वपाका केन्द्रीय सदस्यसमेत हुन्।

यसबीच सुनारले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफूमाथि लागेका आरोपमाथि हुने छानबिनमा पार्टी र राज्यका निकायलाई सहयोग गर्ने बताएका छन्। उनले आफूमाथि उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको तथा आवश्यक परे पार्टीबाट निलम्बित हुन र सांसद पदबाट निलम्बित हुनसमेत तयार रहेको बताएका छन्।

‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु । म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,’ उनले भनेका छन्, ‘राज्यले गरेको, पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु।’

सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको दाबीसमेत गरेका छन्। उनले सार्वजनिक भएको अडियो भने बनावटी भएको जिकिर गरेका छन्।

‘मैले भगवानको आँखामा हुने कुनै पाप र कानुनको आँखामा हुने कुनै अपराध गरेको छु भने म अहिले यही दाङबाट हतकडी लाएर जानलाई मलाई कुनै पनि आपत्ति छैन,’ उनले भनेका छन्।

अडियो प्रकरणपछि सुनारमाथि कारबाहीका लागि पार्टीभित्र र बाहिर दबाब बढिरहेका बेला अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो। अब सुनारको जवाफपछि आयोगले घटनासम्बन्धी थप छानबिन तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाउनेछ।

सुनार बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।