प्रधानमन्त्री शाह पहिलोपटक प्रहरी कार्यक्रममा, इन्स्पेक्टरलाई भने- दबाब र प्रभावमा नपर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपाल प्रहरीको कार्यक्रममा सहभागी भएका छन्। उनी सोमबार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकको दीक्षान्त समारोहमा सहभागी भएका हुन्।
१–१८४औँ समूहका प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरीलाई कुनै पनि दबाब वा अनुचित प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। उनले नागरिकले प्रहरीप्रति भेदभावरहित र कुशल सेवा प्रवाहको अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताए।
‘भेदभाव नगरी प्रहरीले कुशलतापूर्वक काम गर्नेछ भन्ने विश्वास नागरिकमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु,’ प्रधानमन्त्री शाहले भने।
आफ्ना छोराछोरीलाई चुनौतीपूर्ण प्रहरी सेवामा प्रवेश गराउने अभिभावक तथा परिवारप्रति आभार व्यक्त गर्दै शाहले प्रहरी सेवामा पेसागत सफलताको पहिलो आधार इमानदारिता र नैतिकता भएको बताए। उनले जिम्मेवारी निर्वाहमा जवाफदेहिता महत्वपूर्ण हुने उल्लेख गरे।
आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई कुनै पनि दबाब र प्रभावमा नपर्न आग्रह गर्दै उनले भने, ‘मलाई विश्वास छ, यहाँहरू कुनै दबाब र प्रभावमा पर्नुहुनेछैन।’
शाहले प्रहरी संगठनको प्रोटोकल र आचारसंहिताविपरीतका गतिविधिमा संलग्न नहुन पनि निर्देशन दिए। समयसँगै अपराधका प्रवृत्ति परिवर्तन भइरहेको उल्लेख गर्दै उनले बदलिँदो अपराध नियन्त्रणका लागि अनुसन्धानमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए।
‘संगठनको प्रोटोकल विपरीतको काममा संलग्न हुनुहुनेछैन भन्ने विश्वास छ,’ उनले भने, ‘समयको बदलावसँगै अपराध प्रवृत्ति बदलिएको छ।’
परिणाममुखी अनुसन्धानका लागि आवश्यक प्रविधि र स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री शाहले बताए।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक डीआईजी दिनेश आचार्यका अनुसार १–१८४औँ समूहका ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। दीक्षित हुनेमा ८ जना महिला र ७१ जना पुरुष छन्। उनीहरूले ३४० दिनसम्मको कठिन आधारभूत तालिम पूरा गरेका हुन्।
दीक्षान्त समारोहमा मुख्य सचिव गोविन्दबहादुर कार्की, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो।



प्रतिकृया दिनुहोस्