किशोरीमाथि जबरजस्तीकरणीको आरोपमा धनगढीका चौधरी पुर्पक्षका लागि थुनामा

धनगढी । धनगढीमा आफ्नै घरमा डेरा गरी बस्दै आएकी १६ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका एक व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन्।
धनगढी उपमहानगरपालिका–५, तारानगरका तिलक चौधरीलाई जिल्ला अदालत कैलालीले जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
न्यायाधीश भरतकुमार दाहालको इजलासले शुक्रबार चौधरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतको आदेशअनुसार किशोरी केही महिनादेखि चौधरीको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।
अभियोगपत्रअनुसार चौधरीले किशोरीलाई माया–प्रेमको नाटक गरी घटना कसैलाई नभन्न भन्दै डर, त्रास र धम्की दिएको आरोप लगाइएको छ। सोही आधारमा उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अन्तर्गतको कसुरमा अभियोगपत्र दायर गरिएको थियो।
अदालतमा बयान दिने क्रममा चौधरीले किशोरी आफ्नो घरमा कोठा भाडामा लिएर बस्दै आएको तथा चिनजानपछि फोन र ह्वाट्सएपमार्फत कुराकानी हुने गरेको बताएका छन्। उनले आफूहरूबीच प्रेम सम्बन्ध रहेको र आपसी सहमतिमा शारीरिक सम्पर्क भएको जिकिर गरेका छन्।
तर, अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेकाले चौधरीमाथि लागेको जबरजस्तीकरणीको आरोप अदालतबाट प्रमाणित भइसकेको छैन।





प्रतिकृया दिनुहोस्