सुदूरपश्चिम चिनाउन धनगढीमा डिजिटल बोर्ड, मुख्यमन्त्री भट्टले भने- ‘सम्भावनालाई अवसरमा बदलौँ’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले इतिहासको अन्वेषण र वर्तमानको विश्लेषणबाट प्रदेशको भविष्यको सुन्दर यात्रा तय गर्न सकिने बताएका छन्। उनले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तनलाई सुदूरपश्चिमको पहिचान, सम्भावना र सम्पदा उजागर गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए।

धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत आइतबार धनगढी–१ स्थित जेन्जी मार्गको पार्कमा स्थापना गरेको डिजिटल बोर्डको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले आधुनिक प्रविधिको प्रयोगबाट प्रदेशका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावना विश्वसामु चिनाउन सकिने बताए।

“हाम्रा सबै समस्यालाई सम्भावना, चुनौतीलाई अवसर र आवश्यकतालाई सम्बोधन गर्ने शक्ति प्रविधिसँग छ,” उनले भने, “उपमहानगरपालिकाले प्रविधिको प्रयोगमार्फत सुदूरपश्चिमका सम्भावना र सुन्दरता देखाउँदै तिनलाई अवसरमा बदल्ने प्रयास थालेको छ। यसबाट प्रदेशले पनि सिक्नुपर्छ।”

मुख्यमन्त्री भट्टले प्रविधिलाई जनतासँग जोडेर जनजीवनमा उपयोग गर्नु अहिलेको आवश्यकता भएको बताए। सुदूरपश्चिमका सम्भावना र सम्पदालाई आधुनिक प्रविधिमार्फत प्रचार गर्न सके पर्यटन प्रवद्र्धनसँगै रोजगारी र आर्थिक विकासमा समेत योगदान पुग्ने उनको भनाइ थियो।

उनले सुन्दर, समृद्ध, वैभवशाली र गौरवशाली सुदूरपश्चिम निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउँदै त्यसका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको उचित प्रचारप्रसार र उपयोगबाट सुदूरपश्चिमलाई समृद्ध बनाउन सकिने बताए। उनले प्रदेशका सम्भावनालाई चिनाउन स्थानीय तह, प्रदेश सरकार र नागरिक सबैले गम्भीरतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए।

उपप्रमुख कन्दकला रानाका अनुसार डिजिटल बोर्डमा हरेक दिन साँझ ६ बजेदेखि तीन घण्टासम्म सुदूरपश्चिमका विभिन्न सम्भावना, सम्पदा तथा उपलब्धिबारे सामग्री प्रस्तुत गरिनेछ। उपमहानगरपालिकाले प्रदेशका ८८ वटै स्थानीय तहलाई आफ्ना असल अभ्यास, उपलब्धि र सम्भावनासम्बन्धी विवरण उपलब्ध गराउन आग्रहसमेत गरेको छ।

सोही अवसरमा उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ मूल नारासहित तयार पारेका २३ वटा प्रवद्र्धनात्मक पुस्तिका पनि विमोचन गरेको छ। पुस्तिकामा प्रदेशका विभिन्न धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलका बारेमा जानकारी समेटिएको छ।

ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचान विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई सुदूरपश्चिमका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले पुस्तिका तयार पारिएको उपमहानगरपालिकाले जनाएको छ।

डिजिटल बोर्ड र प्रवद्र्धनात्मक पुस्तिकामार्फत सुदूरपश्चिमका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, मौलिक संस्कृति तथा ऐतिहासिक सम्पदालाई व्यापक रूपमा चिनाउने लक्ष्य राखिएको छ। यसबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै धनगढीलाई आधुनिक र पर्यटकीय गतिविधिको केन्द्रका रूपमा विकास गर्ने अभियानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।