चाडपर्वमा बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाको जोड

धनगढी । चाडपर्वका बेला हुन सक्ने मूल्यवृद्धि, म्याद गुज्रिएका वस्तुको बिक्री तथा कालोबजारी नियन्त्रणका लागि नियमित र प्रभावकारी बजार अनुगमन गर्न सरोकारवालाले जोड दिएका छन्।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा भएको शुभकामना आदानप्रदान तथा अन्तरक्रियामा सहभागी सरोकारवालाले उपभोक्ताको अधिकार संरक्षणसँगै व्यवसायीले पनि कानुनी तथा व्यावसायिक दायित्व पूरा गर्नुपर्ने बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बजार अनुगमन गर्दा वास्तविक अवस्था बुझेर आवश्यकताका आधारमा सुधार तथा कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए। प्रहरी प्रशासनको उद्देश्य व्यवसायीलाई सधैँ कारबाही गर्नु नभएको स्पष्ट गर्दै उनले पहिलो चरणमा व्यवसायीलाई सचेत गराउने, व्यवसाय दर्ता गर्न तथा हिसाब–किताब व्यवस्थित राख्न सहजीकरण गरिँदै आएको बताए।

चाडपर्वका बेला म्याद गुज्रिएका वस्तुको बिक्री, अस्वाभाविक मूल्यवृद्धि तथा सामान लुकाएर कालोबजारी गर्ने गतिविधि नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए। सीमाबाट ल्याइने तथा पठाइने सामानको कारोबार गर्दा आवश्यक बिल–बिजक राख्न व्यवसायीलाई आग्रह गर्दै खत्रीले उपभोक्तासँग प्रहरी प्रशासनले समेत नम्र व्यवहार गर्नुपर्ने बताए।

राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय धनगढीका प्रमुख प्रकाशदत्त भट्टले उपभोक्ता र व्यवसायी दुवैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए। कानुनको पालना सबै पक्षबाट हुनुपर्ने उल्लेख गर्दै उनले कानुन उल्लङ्घन भए कारबाही र समस्या परे सुनुवाइका लागि सम्बन्धित निकायसम्म पुग्ने व्यवस्था प्रभावकारी हुनुपर्ने बताए।

‘सरकारतिर मात्र हेर्ने होइन, आफूले पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ,’ भट्टले भने। उनले बजारमा मूल्यवृद्धि वा अन्य समस्या देखिए नागरिकले पनि सम्बन्धित निकायलाई जानकारी गराएर खबरदारी गर्नुपर्ने बताए।

राजस्व कार्यालय कैलालीका प्रमुख भीम काफ्लेले व्यवसायीको करसम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताए। कारोबारमा देखिने जोखिम न्यूनीकरणका लागि करदाता शिक्षा, नियमित अनुगमन तथा खातापाता व्यवस्थित राख्न आवश्यक रहेको उनले बताए।

कानुनी प्रक्रिया नबुझ्दा कतिपय व्यवसायीले समस्या भोग्ने गरेको उल्लेख गर्दै काफ्लेले व्यवसायलाई कानुनी र व्यवस्थित रूपमा सञ्चालन गर्न करसम्बन्धी जानकारी लिन आग्रह गरे।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अधिकृत कृष्णबहादुर विकले चाडपर्वमा मात्रै बजार अनुगमन गर्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको बताए। वर्षभरि नै नियमित अनुगमन हुनुपर्ने भन्दै उनले चाडपर्वमा हुने अनुगमनलाई औपचारिकतामा सीमित गर्न नहुने बताए।

बजारको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यसँग समेत रहेकाले अनुगमनलाई गम्भीर रूपमा अघि बढाउनुपर्ने विकको भनाइ थियो। उपभोक्ताले पनि आफ्नो अधिकारका लागि सम्बन्धित निकायलाई खबरदारी गर्नुपर्ने उनले बताए।

होलसेल व्यवसायी कोपिला कुँवरले थोक व्यवसायमा पारदर्शिता कायम गर्न व्यावहारिक कठिनाइ रहेको बताइन्। भन्सार प्रक्रिया तथा सामान ओसारपसारका क्रममा व्यवसायीले विभिन्न झन्झट बेहोर्नुपरेको उनको गुनासो थियो। राजस्व तिरेर नियमअनुसार सामान ल्याउँदा तथा ग्राहकसम्म पठाउँदा पनि समस्या खेप्नुपरेको उनले बताइन्।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले उपभोक्ता अधिकार संरक्षणसँगै व्यवसायीका लागि सहज वातावरण निर्माण गर्नुपर्ने बताए। समस्या आएपछि मात्र सक्रिय हुनेभन्दा समस्या आउन नदिन सम्बन्धित निकाय र व्यवसायी दुवैले पूर्वतयारी गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रमको सञ्चालन संघका कार्यकारी अधिकृत दिनेश ओझाले गरेका थिए। कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, व्यवसायी र अन्य सरोकारवालाको उपस्थिति थियो।