देउवा पक्षले बिहीबार मात्रै गर्यो तीन हजार पाँच सय वडामा अधिवेशन, बाँकीमा शुक्रबार-शनिबार हुँदै

धनगढी। नेपाली कांग्रेसको संस्थापन पक्षले वडा अधिवेशन सुरु गरेको १२ दिनपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि बिहीबारदेखि वडा अधिवेशन थालेको छ। देउवा पक्षका अनुसार बिहीबार देशभरका करिब तीन हजार पाँच सय वडामा अधिवेशन सम्पन्न भएको छ।
देउवा पक्षको महाधिवेशन सचिवालय समितिका संयोजक दीपक कुइँकेलका अनुसार अधिवेशन भएका वडामा कतिपय स्थानमा सर्वसम्मत र कतिपयमा मतदानमार्फत वडा कार्यसमिति चयन भएका छन्। बाँकी वडामा शुक्रबार र शनिबार अधिवेशन गरिने उनले बताए।
बाढीपहिरोलगायतका कारण केही स्थानमा अधिवेशन प्रभावित भएको कुइँकेलले जानकारी दिए। अवरुद्ध भएका स्थानमा परिस्थितिअनुसार अधिवेशन सम्पन्न गरिने उनको भनाइ छ।
पूर्वसभापति देउवाले बिहीबार देशभरका कांग्रेस नेता तथा कार्यकर्तालाई वडा अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्। उनले ६ हजार ७ सय ४३ वटै वडामा विधि र प्रक्रिया पूरा गरी अधिवेशन सम्पन्न गर्न आग्रह गर्दै १५औँ महाधिवेशनमार्फत पार्टीभित्रको मतभेद समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
देउवा पक्षले आफ्नो अधिवेशन प्रक्रियाका लागि ५ लाख ७३ हजार २ सय ६९ पुराना क्रियाशील सदस्यता नवीकरण र २ लाख १० हजार ५ सय ६७ नयाँ क्रियाशील सदस्यता वितरण गरेको जनाएको छ। यसअनुसार ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाइएको छ।
वडा अधिवेशनबाट क्रियाशील सदस्यताको संख्याका आधारमा २१ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। १ सय ५० क्रियाशील सदस्यता रहेको वडाबाट २१ जना र ६ सय ५० भन्दा बढी सदस्यता रहेको वडाबाट बढीमा ७५ जना क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ।
क्षेत्रीय प्रतिनिधिमा १८ देखि २८ वर्ष उमेर समूहका २ देखि ६ जनासम्म युवा तथा ३ देखि १२ जनासम्म महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। अपांगता भएका व्यक्ति, विषयविज्ञ, श्रमिक, प्रजातन्त्रका सेनानी, घाइते, द्वन्द्वपीडित तथा सहिद परिवारको प्रतिनिधित्वसमेत सुनिश्चित गरिएको देउवा पक्षले जनाएको छ।
वडा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने सभापतिको प्रस्तावमा वडा कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था छ।
स्थानीय तहअनुसार वडा कार्यसमितिको सदस्य संख्या फरक हुनेछ। गाउँपालिकाका वडाबाट तीन महिला, छ खुला र छ समावेशी गरी १५, नगरपालिकाका वडाबाट चार महिला, आठ खुला र आठ समावेशी गरी २०, उपमहानगरपालिकाका वडाबाट पाँच महिला, १० खुला र १० समावेशी गरी २५ तथा महानगरपालिकाका वडाबाट छ महिला, १२ खुला र १२ समावेशी गरी ३० सदस्य निर्वाचित हुनेछन्।
वडा कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका कम्तीमा एक महिला र एक पुरुष युवा तथा ४० वर्षमुनिका कम्तीमा एक महिला र एक पुरुषको प्रतिनिधित्वसमेत सुनिश्चित गरिएको छ।
देउवा पक्षले वडा अधिवेशनपछि २० असोजमा गाउँपालिका तथा नगरपालिका अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन २३ असोज, जिल्ला अधिवेशन १५ कात्तिक र प्रदेश अधिवेशन ४ मंसिरमा गर्ने तय गरिएको छ। देउवा पक्षको केन्द्रीय महाधिवेशन २१ देखि २३ मंसिरसम्म गर्ने कार्यतालिका छ।



प्रतिकृया दिनुहोस्