October 25, 2026, Sunday
२०८३ कार्तिक ९

गौरीगङ्गाको भैरव आधारभूत विद्यालयमा जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन शिक्षक पक्राउ परेका छन्।

दलित विद्यार्थी, अभिभावक तथा विद्यालयसँग सम्बन्धित व्यक्तिमाथि जातीय आधारमा विभेदपूर्ण व्यवहार गरिएको भन्दै परेको उजुरीमाथि अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले तीन शिक्षकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा शिक्षिका भगवती बडैला, भगवती रेग्मी र शिक्षक टेकराज उपाध्याय रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले जानकारी दिए।

प्रहरीका अनुसार घटनासम्बन्धी उजुरी परेपछि अनुसन्धानका क्रममा तीनै जनालाई नियन्त्रणमा लिइएको हो। घटनामा संलग्न भनिएका अन्य व्यक्तिमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षिका, कार्यालय सहयोगी तथा दलित विद्यार्थीमाथि जातीय पहिचानका आधारमा विभेद गरिएको आरोप लागेको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य कैलाश आउजीका अनुसार अध्यक्ष चक्रबहादुर विक, शिक्षिका बिना विक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाईसहित दलित विद्यार्थीमाथि विभेदपूर्ण व्यवहार भएको आरोप छ।

घटना सार्वजनिक भएपछि स्थानीयवासी, विद्यार्थीका अभिभावक तथा विभिन्न सरोकारवालाले विद्यालयमा भएको भनिएको जातीय विभेदबारे निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। उनीहरूले दोषी ठहरिए कानुनअनुसार कारबाही गर्न र घटनाको तथ्य सार्वजनिक गर्न माग गरेका छन्।

विद्यालयजस्तो शैक्षिक संस्थामै जातीय विभेदको आरोप लागेपछि घटनाले स्थानीयस्तरमा चासो बढाएको छ। प्रहरीले उजुरीका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको वास्तविकता भने अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ।

नेपालको संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई निषेध गरेको छ। जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा प्रचलित कानुनअनुसार कारबाही हुने व्यवस्था छ।