भदौ २३ र २४ का घटनामा दोषीलाई उन्मुक्ति दिन मिल्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्ष भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमनदेखि भदौ २४ गते भएको हिंसा, आगजनी र सार्वजनिक संरचनामाथिको ध्वंससम्मका घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका हुन्।
जननायक बीपी कोइरालाको जन्मदिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले भदौ २४ गते आफ्नै घर जलेको घटना स्मरण गरे। उनले घर जलेको र परिवारसमेत जोखिममा परेको घटना व्यक्तिगत रूपमा पीडादायी भए पनि त्यस दिन र त्यसअघिको घटनामा ज्यान गुमाएका तथा घाइते भएका युवाको पीडा आफूहरूको भन्दा ठूलो रहेको बताए।
थापाले भदौ २४ लाई आफ्नो व्यक्तिगत क्षतिको घटनाका रूपमा मात्र हेर्न नमिल्ने बताए। उक्त दिन धेरै नागरिकका घर तथा सार्वजनिक सम्पत्ति जलेर नष्ट भएको र थुप्रै परिवारले कहिल्यै नमेटिने घाउ बोकेर बस्नुपरेको उनको भनाइ छ।
‘म र म जस्ता व्यक्तिहरूको जलेको घरको पीडा गौण हुन्छ, जुन बेला हाम्रा अगाडि त्यो दिन वा त्योभन्दा एक दिनअघि आफ्नो सन्तान गुमाएका आमाहरू उभिनुहुन्छ,’ थापाले भने, ‘हाम्रो पीडा गौण हुन्छ, जतिखेर त्यस घटनामा परेर घाइते भएका, जसको त्यो दिनबाट जीवन बदलिएको छ, ती युवाहरू अगाडि आएर उभिन्छन्।’
उनले भदौ २३ गते जेनजी युवाहरूले आफ्नो आक्रोश र असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेको उल्लेख गर्दै त्यस दिन राज्यबाट चरम दमन भएको आरोप लगाए। शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गरी हिंसा भड्काउनेहरूको समेत पहिचान हुनुपर्ने उनको माग छ।
‘भदौ २३ भनेको नौजवान युवाहरूले आफ्नो आक्रोश व्यक्त गरेको दिन थियो। अदम्य साहस प्रकट गरेको दिन थियो। जेनजी युवाहरूको विद्रोहको दिन थियो,’ थापाले भने, ‘त्यो दिन ती युवाहरूमाथि राज्यको चरम दमन भएको थियो। त्यो दिन शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गरेर त्यसलाई उक्साउने काम भएको थियो। ती उक्साउनेहरू को थिए ? तिनको पहिचान हुनुपर्छ।’
भदौ २३ गतेको घटनापछि भदौ २४ गते भएको हिंसा र ध्वंसलाई पनि उस्तै गम्भीरताका साथ अनुसन्धान गर्नुपर्ने उनले बताए। भदौ २४ गते आवेग र आक्रोशको वातावरण भए पनि त्यसलाई प्रयोग गरेर ठूलो स्तरको हिंसा तथा ध्वंस गराइएको थापाको दाबी छ।
उनले सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको आगजनी र तोडफोडबारे गम्भीर प्रश्न उठाउँदै त्यसको योजना कसले बनायो, कसले उक्सायो र घटनालाई कसरी यति ठूलो स्तरमा पुर्याइयो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने बताए।
‘को थिए सिंहदरबार जलाउने ? को थिए अदालत जलाउने ? को थिए त्यो दिन त्यत्रो ठूलो ध्वंस गराउने र उक्साउने ? को थियो योजना बनाउने ? कसले गर्यो ?’ भन्दै थापाले घटनाको जिम्मेवारी र जवाफदेहिता तय गर्नुपर्ने बताए।
घटनाका क्रममा ठूलो राज्य संयन्त्र छोटो समयमै प्रभावहीन बनेको विषयमा समेत छानबिन हुनुपर्ने उनको भनाइ छ। ‘अनि त्यत्रो ठूलो राज्य संयन्त्र क्षणभरमा काम नलाग्ने कसरी भयो ? यसको खोजी हामीले गर्नु पर्दैन ?’ उनले प्रश्न गरे।
थापाले आवेगमा व्यक्त भएको प्रतिक्रियालाई अपराधसँग समान रूपमा हेर्न नहुने तर आवेग र आक्रोशलाई प्रयोग गरेर अपराध गर्नेहरूलाई उन्मुक्ति दिन नहुने स्पष्ट पारे। ‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ। तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ,’ उनले भने।
सरकारले भदौ २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै थापाले अनुसन्धान कहाँ पुग्यो भन्ने प्रश्न गरेका छन्। उनले सरकारलाई अनुसन्धानको नाममा जनतालाई अलमल्याउने काम नगर्न र घटनाको वास्तविकता सार्वजनिक गर्न आग्रह गरे।
त्यस्तै, भदौ २३ गतेको घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि उनले राखेका छन्। भदौ २३ गते आन्दोलनमाथि दमन गर्ने, हिंसा भड्काउने तथा भदौ २४ गते अपराध र ध्वंसमा संलग्न सबैलाई निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।
दोषीलाई कारबाही नगरे समाजमा दण्डहीनताले प्रश्रय पाउने र भविष्यमा यस्ता घटना दोहोरिन सक्ने थापाले चेतावनी दिए। ‘काल पल्किसकेपछि त्यसले यो र त्यो भन्दैन,’ भन्दै उनले अपराधीलाई कारबाही नगर्दा त्यसको असर कुनै पनि पक्ष वा व्यक्तिमाथि पर्न सक्ने बताए।
‘आगो लगाउनेहरूले त्यसको सजाय पाएनन् भने आगो लगाउने कुराले प्रश्रय पाइरहन्छ,’ उनले भने।
थापाले कांग्रेस भदौ २३ र २४ गतेका घटनाबारे आफ्नो धारणा स्पष्ट रहेको भन्दै दमन गर्ने, हिंसा भड्काउने र ध्वंसमा संलग्न सबैमाथि समान रूपमा कानुनी कारबाही हुनुपर्ने बताए। उनका अनुसार दोषीलाई कानुनी दायरामा ल्याएर जवाफदेहिता स्थापित गरेपछि मात्रै राज्य वास्तविक अर्थमा जवाफदेही र समाज न्यायपूर्ण बन्ने बाटोमा अघि बढ्न सक्छ।



प्रतिकृया दिनुहोस्