August 29, 2026, Saturday
२०८३ भाद्र १३

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ सहयोग संकलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार कोषमा सबैभन्दा धेरै गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ । यस्तै, कुमारी बैंकले ३ करोड, एनसेलले १ करोड, एनआईसी एसिया बैंकले २ करोड २१ लाख, निफ्रा बैंकले २ करोड ५० लाख र सारस बेभरेज (रेडबुल)ले २ करोड रुपैयाँ सहयोग गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले ३ करोड, नेपाल बैंकले ३ करोड १ लाख, शिवशक्ति ग्रुपले ५१ लाख तथा रिलायन्स सुगर मिल एन्ड केमिकल इन्डस्ट्रिजले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार उल्लेखित रकममध्ये केही सहयोग रकम प्रत्यक्ष रूपमा अर्थमन्त्रीलाई हस्तान्तरण भएको हो । राहत कोषमा साना–साना रकम सहयोग आउने क्रम जारी रहेको र विभिन्न व्यक्ति तथा संस्थाबाट ठूलो रकम सहयोग गर्ने प्रतिबद्धता पनि प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ ।

सरकारले विपद् प्रभावित क्षेत्रमा तत्काल ३५ अर्ब रुपैयाँसम्म परिचालन गर्न सक्ने जनाएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रहेको रकम तथा विश्व बैंकबाट प्राप्त २५ अर्ब रुपैयाँसमेत गरी उक्त रकम परिचालन गर्न सकिने अर्थ मन्त्रालयले जनाएको हो ।

विश्व बैंकले नेपालमा आएको विपद्पछि आपत्कालीन सहयोगस्वरूप २५ अर्ब रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । गैरआवासीय नेपाली संघले पनि राहत कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख तथा एक्स्ट्रम इनर्जी ड्रिङ्क्सले १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

विपद्पछि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाबाट पनि आइरहेको छ । भारतले दुई चरणमा गरी ४७.५ टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरिसकेको छ भने थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरी नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार रहेको बताएका थिए ।

यस्तै, अमेरिका, चीन, बंगलादेश र संयुक्त अरब इमिरेट्स (यूएई)ले पनि नेपाललाई राहत तथा उद्धारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी विदेश मन्त्रालयले क्याथोलिक रिलिफ सर्भिसेसमार्फत ५ लाख अमेरिकी डलर, अर्थात् करिब ७ करोड ६० लाख रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । उक्त सहयोग बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा पानी, सरसफाइ र स्वच्छतासम्बन्धी आवश्यकतामा खर्च गरिने दूतावासले जनाएको छ ।

चीनले पनि तत्काल आपत्कालीन राहत सामग्री तथा नगद सहयोगका लागि समन्वय गरिसकेको जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आगामी दिनमा पनि आवश्यकताअनुसार थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानले पनि विपद्को यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताको साथमा रहेको भन्दै आवश्यक सहयोग उपलब्ध गराउन आफ्नो देश तयार रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ (यूएन)ले विपद्को क्षतिको आकलन तथा आपत्कालीन सहायता उपलब्ध गराउने कार्यमा नेपाल सरकारसँग समन्वय गरिरहेको जनाएको छ । यूएनका टोलीले प्रभावित समुदायलाई सहयोग गर्न राहत सामग्री तथा जनशक्ति परिचालन गरिरहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि आपत्कालीन स्वास्थ्य आवश्यकता पहिचान तथा राहत कार्यमा नेपालका सम्बन्धित मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ । प्रभावित क्षेत्रमा औषधि तथा बहुउपयोगी टेन्टलगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाइसकेको डब्लुएचओले जनाएको छ ।

यूएईले पनि नेपालमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालस्थित अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका दूतावासले समेत घटनाप्रति दुःख व्यक्त गर्दै नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।