August 29, 2026, Saturday
२०८३ भाद्र १३

कैलालीमा हत्या प्रकरण : प्रेमीसँग मिलेर श्रीमतीले बनाइन् हत्याको योजना

धनगढी । कैलालीमा प्रेमीसँग मिलेर श्रीमान्को हत्या गराएको आरोपमा प्रहरीले एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ। श्रीमानलाई अमरावती जंगलमा पुर्‍याएर हत्या गरेपछि शव कर्णाली नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार लम्कीचुहा नगरपालिका–४ की ३२ वर्षीया यमुना सुनारले आफ्ना ३३ वर्षीय श्रीमान दीपक सुनार साउन २२ गतेदेखि हराएको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन्।

दीपक जानकी गाउँपालिका–९ अमरावतीस्थित ससुरालीबाट हराएको भन्दै यमुनाले खोजीका लागि प्रहरीलाई आग्रह गरेकी थिइन्। त्यसपछि जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय लम्कीचुहा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरी खोजतलास सुरु गरिएको थियो।

खोजीका क्रममा अमरावती जंगलमा प्रहरीले रगतका दाग फेला पार्‍यो। नमूना परीक्षण गर्दा उक्त रगत मानिसको भएको पुष्टि भयो। केही समयपछि सोही क्षेत्रमा बेपत्ता दीपकको चप्पलसमेत फेला परेपछि प्रहरीको अनुसन्धान थप शंकास्पद बन्दै गयो।

अनुसन्धानका क्रममा प्रहरीले यमुनामाथि निगरानी बढायो। दीपक बेपत्ता हुनुअघि यमुनाको लम्कीचुहा–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकारसँग पटक–पटक फोन सम्पर्क भएको खुलेपछि प्रहरीको अनुसन्धान उनीतर्फ पनि केन्द्रित भयो।

त्यसैगरी दुर्योधन र कञ्चनपुरको बेलौरी नगरपालिका–९ का ५६ वर्षीय वीरेन्द्र राना थारू, बेलौरी–८ का ३२ वर्षीय मिभ राना थारू तथा कैलालीको टीकापुर नगरपालिका–३ का ३२ वर्षीय रामराजेश महतोबीच घटनाको दिन पटक–पटक फोन सम्पर्क भएको प्रहरीले जनाएको छ।

यमुनालाई पक्राउ गरी सोधपुछ गरेपछि घटनाको योजनाबारे खुलेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार यमुनाले प्रेमी दुर्योधनसँग मिलेर दीपकको हत्या गर्ने योजना बनाएको र हत्याका लागि तीन जनालाई रकम दिने सहमति भएको बयान दिएकी छन्।

प्रारम्भिक अनुसन्धानअनुसार दुर्योधनले तीन जनालाई दीपकको हत्या गर्न १ लाख ५० हजार रुपैयाँ दिने सहमति गरेका थिए।

डिएसपी तिमिल्सिनाका अनुसार योजनाअनुसार यमुनाले दीपकलाई अमरावती जंगलमा पुर्‍याएकी थिइन्। त्यहाँ पहिल्यै बसेका व्यक्तिहरूले दीपकमाथि आक्रमण गरी हत्या गरेको र त्यसपछि शव मोटरसाइकलमा राखेर कर्णाली नदीमा फालेको अनुसन्धानबाट खुलेको छ।

‘यमुनाले नै प्रेमी दुर्योधनसँगको योजना अनुसार श्रीमान दीपकको हत्या गर्न भूमिका खेलेको देखियो,’ डिएसपी तिमिल्सिनाले भने।

प्रहरीका अनुसार दीपकको शव भने अहिलेसम्म फेला परेको छैन। पक्राउ परेकाहरूको बयानका आधारमा कर्णाली नदीमा शवको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा दीपक र दुर्योधनबीच पारिवारिक नाता सम्बन्धसमेत रहेको खुलेको छ। प्रहरीका अनुसार दीपक विगतमा लागुऔषधसम्बन्धी घटनामा पक्राउ परी कारागार बसेका थिए। उनी कारागारमा रहेका बेला यमुना र दुर्योधनबीच प्रेम सम्बन्ध स्थापित भएको बयानबाट खुलेको प्रहरीको भनाइ छ।

इप्रका टीकापुरका प्रमुख डिएसपी प्रकाश डाँगीका अनुसार दीपक र दुर्योधनबीच केही टाढाको ससुरा–ज्वाइँ नाता पर्छ।

घटनामा पक्राउ परेका पाँचै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। साथै, बेपत्ता दीपकको शव खोजी कार्यलाई समेत तीव्रता दिइएको प्रहरीले जनाएको छ।