August 21, 2026, Friday
२०८३ भाद्र ५

सभामुखमाथि निवर्तमान मुख्यमन्त्री शाहको प्रश्न, देउवाको पदमुक्ति ‘पूर्वाग्रही’ भएको आरोप

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्।

कांग्रेस सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयलाई उनले ‘पक्षपाती’ र ‘बदनियतपूर्ण’ भएको आरोप लगाएका हुन्।

११ महिनादेखि अमेरिकामा रहेका देउवा लगातार प्रदेशसभा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख भण्डारीले मंगलबार उनको पद रिक्त भएको घोषणा गरेका थिए। त्यसको भोलिपल्ट पत्रकारसँग कुरा गर्दै शाहले भने, ‘आज मुख्यमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ। त्यसलाई सहज बनाउने उद्देश्यले हिजै प्रकाश देउवालाई एकाएक पदमुक्त गरिएको देखिन्छ।’

शाहले प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुअघि सम्बन्धित व्यक्तिसँग कम्तीमा एकपटक सोधपुछ र छलफल गर्नुपर्ने जिकिर गरे। देउवाले आफू विदेशमा रहेको जानकारी गराइसकेको अवस्थामा समेत सभामुखले त्यसबारे आवश्यक सोधखोज नगरेको उनको आरोप छ।

‘कुनै पनि प्रदेशसभा सदस्यलाई हटाउँदा प्राकृतिक न्यायको सिद्धान्तअनुसार एकपटक सोधपुछ गर्नुपर्छ,’ शाहले भने, ‘सभामुखले पक्षपाती निर्णय गर्नुभएको छ। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

उनले यसअघि साविक नागरिक उन्मुक्ति पार्टीकी प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएको र सर्वोच्च अदालतले पुनर्बहाली गरेको उदाहरणसमेत स्मरण गराए। देउवाको हकमा पनि कानुनी उपचारको बाटो खुला रहेको उनको भनाइ छ।

सभामुखले दलीय अंकगणितलाई आधार बनाएर निर्णय गर्न नहुने शाहले बताए। ‘सभामुखले दलीय मान्यतालाई आधार बनाएर दलको अंकगणित हेरी भूमिका निर्वाह गर्नुहुँदैन,’ उनले भने, ‘यस्ता घटना दोहोरिनु हुँदैन।’

यसैबीच, नेकपा संसदीय दलका नेता खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। २९ साउनमा मुख्यमन्त्री नियुक्त भएका भट्टले विश्वासको मत लिन लागेका हुन्। तर कांग्रेसले भने उनलाई विश्वासको मत नदिने भएको छ।

शाहले मुख्यमन्त्री भट्टको पक्षमा कांग्रेसले मतदान नगर्ने स्पष्ट पारे। सभामुखको निर्णयप्रति आपत्ति जनाउँदै कांग्रेसले भट्टलाई विश्वासको मत नदिने निर्णयकालागी अहिले कांग्रेस संसदिय दलको बैठक बसी रहेको छ ।