August 14, 2026, Friday
२०८३ श्रावण २९

मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा, बोलाए संसदीय दलको बैठक

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले बुधबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएका हुन्।

बजेटको विषयमा विवाद बढेपछि मुख्यमन्त्री शाहले गत ३१ असारमा नेकपा एमालेका चार मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए। त्यसै दिन एमालेले शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाह बिहीबार स्वतः पदमुक्त हुने अवस्थामा छन्।

अल्पमतमा परेको २९औँ दिनमा शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका हुन्। कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काले बैठकमा प्रदेश सरकारको विषयमा छलफल हुने बताइन्। उनका अनुसार शाहले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई सोझै राजीनामा दिने वा प्रदेश सभामा सम्बोधन गरेर राजीनामा घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने भन्ने विषयमा भने बैठकमा परामर्श गरिनेछ।

‘एमालेले समर्थन फिर्ता लिएपछि हामी स्पष्ट रूपमा अल्पमतमा परेको कुरा सबैलाई थाहै छ। नेकपा र एमालेको सहकार्यले प्रदेश सभामा नयाँ सम्भावना नदेखिएकाले उहाँले राजीनामा दिनुहुन्छ,’ खड्काले भनिन्, ‘त्यसै विषयमा परामर्श गर्न मुख्यमन्त्रीज्यूले दलको बैठक बोलाउनुभएको हो।’

मुख्यमन्त्री शाहले आफ्नो नेतृत्वको सरकार जोगाउन नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को समर्थन जुटाउने प्रयास गरेका थिए। तर, केन्द्रमा नेकपा र एमालेबीच सत्ता सहकार्यको सहमति भएपछि उनको प्रयास सफल हुन सकेन।

शाह एमालेको समर्थनमा २० साउन २०८१ मा दोस्रोपटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। यसअघि उनी २६ माघ २०७९ मा पहिलोपटक मुख्यमन्त्री बनेका थिए। राजनीतिक समीकरण परिवर्तन भएपछि उनले २२ चैत २०८० मा राजीनामा दिएका थिए।

खगराज भट्ट बन्नेछन् मुख्यमन्त्री

नेकपा र एमालेबीच केन्द्रमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री अब नेकपाका खगराज भट्ट बन्ने तयारी छ।

शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। त्यसपछि एमालेको समर्थनमा भट्टलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ।

प्रदेश सरकारको नेतृत्वको विषयलाई लिएर नेकपाभित्र केही समय मतभिन्नता देखिएको थियो। तर, पार्टी केन्द्रको पहलमा विवाद समाधान भइसकेको नेताहरूले दाबी गरेका छन्।

खगराज भट्टलाई मुख्यमन्त्री बन्नबाट रोक्नुपर्ने पक्षमा यसअघि लबिङ गरिरहेका नेकपाकै एक सांसदले अब उनलाई नै मुख्यमन्त्रीका रूपमा अघि सार्ने सहमति भएको बताएका छन्।

‘मुख्यमन्त्री को बन्ने भन्ने विषयमा अब विवाद छैन। उहाँ (खगराज भट्ट) लाई नै अघि सार्ने कुरा भइसकेको छ। तर, मन्त्री चयनको विषयमा केही समस्या देखिएको छ,’ ती सांसदले भने, ‘सकभर संसदीय दलले निर्णय गर्छ। त्यो भएन भने पार्टी केन्द्रको निर्णयअनुसार मन्त्री चयन हुन्छन्।’

नयाँ सरकार गठनको तयारीसँगै नेकपा र एमालेभित्र मन्त्री बन्नका लागि आकांक्षीहरूको दौडधुप पनि सुरु भएको छ। एमालेले समेत भट्ट नेतृत्वको सरकारमा कसलाई मन्त्रीका रूपमा पठाउने भन्ने निर्णय गरिसकेको छैन।

‘अहिलेसम्म यो विषयमा कुनै छलफल नै भएको छैन। पार्टी नेतृत्वले ठोस निर्देशन नदिँदासम्म मन्त्री को बन्छ भन्ने कुरा यसै भन्न सकिँदैन,’ एक एमाले सांसदले भने।

मन्त्री चयनको विषय एमालेभन्दा पनि नेकपाभित्र थप पेचिलो बन्ने देखिएको नेताहरू बताउँछन्। तत्कालीन माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीलाई समेत व्यवस्थापन गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् गठन चुनौतीपूर्ण बन्ने उनीहरूको भनाइ छ।