बीपी स्मृति दिवसमा कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान

काठमाडौँ : बीपी स्मृति दिवसमा नेपाली कांग्रेसले नयाँ अभियान घोषणा गरेको छ । बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गरेका हुन् ।
यसको उद्देश्य नेपाली कांग्रेस फर नेशनल कज हुने बताए । यो अभियान भदौ २४ गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीका अवसर पारेर सुरुवात गरिने थापाले बताए। अभियानको मुख्य उद्देश्य पार्टीलाई समाजको सुख-दुःखसँग जोड्नु र नागरिक चेतना अभिवृद्धि गर्नु रहेको थापाको भनाइ छ ।
एनसी फर एनसी अभियानले ४ वटा क्लस्टरमा काम गर्ने सभापति थापाले बताए । ती चार कलस्टरमध्ये पहिलोमा पार्टीका सदस्यहरूले रक्तदान, श्रमदान लगायत विषयमा प्रण गर्ने काम गर्नुपर्ने थापाले बताए । दोस्रोमा वैयक्तिक सहयोग अभियानमा सहभागी हुने, तेस्रोमा नागरिक अभियानमा लाग्ने र चौथोमा सुशासन अभियानमा लाग्ने गरी अभियान सञ्चालन गरिने सभापति थापाको भनाइ थियो । यो सबैले अनिवार्य गर्नुपर्ने नभई स्वेच्छिक रहेको थापाले बताए ।
पार्टीलाई जीवित राख्न, जनविश्वास पुनर्स्थापित गर्न अभियानको सुरु गर्न लागिएको थापाको भनाइ छ । अभियानको साझा उद्देश्य नागरिकको हितमा काम गर्ने रहेको उनले बताए।
आजदेखि भदौ २४ गतेसम्म सबैले आफू सहभागी हुने र आफूले सञ्चालन गर्ने अभियानबारे सोच्ने र भदौ २४ गते बीपी जयन्तीका दिन प्रण गर्दै घोषणा गर्नुपर्ने थापाले बताए।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान घोषणा कार्यक्रममा सभापति थापाले बिरामी भएर जटिल अवस्थामा उपचार गराइरहेका नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका छन् ।
उनले यो निर्णय आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने पनि बताए । केन्द्रीय समिति बैठक नेताहरूसँगको सल्लाहमा शुक्रबारसम्म तोक्ने सभापति थापाले बताए ।
घोषणा कार्यक्रममा बोल्दै कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचना र मतभेदलाई स्वभाविक रूपमा लिँदै त्यसको प्रतिवाद गाली वा आक्रोशबाट नगर्न आग्रह गरे । शर्माले राजनीतिक यात्रामा संयमता र धैर्यता आवश्यक रहेको बताए ।
पार्टीको संस्थापन इतर समूहका नेताहरूले अघिल्लो दिन इतर समूहको भेला र त्यहाँ व्यक्त विचारप्रति गरेको तीखो टिप्पणी र गालीगलौजप्रति लक्षित गर्दै उपसभापति शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘कसैले कतै भेला भएर एकदमै आलोचना गर्नुभयो भन्दैमा त्यसकै पछि लागेर वा त्यसैको बदलामा ढुङ्गा हानेर हामी आफ्नो गन्तव्यमा पुग्न सक्दैनौँ,’ शर्माले भने । उनले पार्टीभित्र विचारको मन्थन हुँदा त्यसलाई उत्तेजनाका रूपमा नभई सुधारको अवसरका रूपमा लिनुपर्ने बताए ।
उनले थपे, ‘बाटोमा हिँड्दा कसैले आलोचना गर्यो भन्दैमा हरेक आलोचनाको प्रतिवादमा उत्रिँदा मूल लक्ष्य ओझेलमा पर्न सक्छ । त्यसैले हामी ढुङ्गा हान्ने होइन, आफ्नो उद्देश्यमा केन्द्रित भएर अगाडि बढ्नुपर्छ ।’
बीपी कोइरालाको मेलमिलाप र सहिष्णुताको राजनीतिको स्मरण गर्दै शर्माले अहिलेको नवीन परिस्थितिमा कांग्रेसले आन्तरिक कलहभन्दा पनि नीति र विचारमा केन्द्रित हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले पार्टीको सदस्यता वितरण र व्यवस्थापनमा क्रान्तिकारी परिवर्तन गरिएको दाबी गरे । पौडेलले कांग्रेसलाई मुलुककै सबैभन्दा बढी सदस्य भएको र पूर्ण रूपमा डिजिटल नेटवर्कमा जोडिएको पार्टी बनाउने अभियान सुरु भएको बताए ।
पौडेलले पार्टीको सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अघि बढेको जानकारी दिए । ‘गत पुससम्म ७ लाख ८८ हजार सदस्यको विवरण अद्यावधिक गरिएको छ’ उनले भने, ‘नवीकरण गरिएका सदस्यहरूले फेरि किन अद्यावधिक गर्ने भन्ने केही अन्योलका बाबजुद ८० प्रतिशतभन्दा बढीले आफ्नो विवरण अद्यावधिक गरिसक्नुभएको छ । यसका लागि सहयोग गर्ने सबैप्रति म आभार व्यक्त गर्दछु ।’
विगतमा कांग्रेसभित्र सदस्यता वितरणलाई लिएर हुने विवाद अब अन्त्य भएको पौडेलले बताए । उनका अनुसार अब नयाँ सदस्यता पूर्ण रूपमा डिजिटल माध्यमबाट लिने व्यवस्था गरिएको छ । ‘अब कांग्रेसका हरेक सदस्यसँग आफ्नै डिजिटल आइडी हुनेछ,’ उनले भने, ‘नेपाली कांग्रेसका सबै सदस्य एउटै डिजिटल नेटवर्कमा जोडिनेछन्, जसले पार्टीलाई प्रविधिमैत्री र आधुनिक बनाउनेछ ।’
महामन्त्री पौडेलले १८ वर्ष पुगेका र राजनीतिक दलको सदस्य बन्न योग्य सबै नेपालीका लागि कांग्रेसको ढोका खुल्ला रहेको बताए । पार्टीको केन्द्रीय संरचनामा युवाहरूको भूमिका बढाउन ३५ वर्षभन्दा कम उमेरका २१ जनालाई केन्द्रीय समितिमा ल्याउने विशेष व्यवस्था विधानमै गरिएको उनले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्