July 21, 2026, Tuesday
२०८३ श्रावण ५

फेरान टोरेसको निर्णायक गोलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता

काठमाडौं : फेरान टोरेसले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। यो जित संगै स्पेन दोस्रो पटक फिफा विश्वकपको च्याम्पियन बनेको हो। 

सन् २०१० मा अतिरिक्त समयमा गोल गर्दै पहिलो पटक विश्वकप जितेको स्पेनले १६ वर्षपछि आइतबार राति सोही इतिहास दोहोर्‍याएको छ। अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्व च्याम्पियन बनेको हो।

न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार भएको फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले दोस्रो पहेंलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडे र अर्जेन्टिना १० खेलाडीमा सीमित भयो।

अतिरिक्त समयको १६ औं मिनेटमा वैकल्पिक खेलाडी निको विलियम्सको हेडरबाट आएको बललाई टोरेसले नजिकबाट शक्तिशाली प्रहार गर्दै स्पेनका लागि विजयी गोल गरे।

वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फेरान टोरेस स्पेनका लागि नायक बने। उनले खेलको १०६औँ मिनेटमा अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजलाई छक्याउँदै गोल गरे। यो गोलले लिओनल मेसी र अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकप जित्ने सपनालाई चकनाचुर पारिदियो।

युरोपियन च्याम्पियन स्पेनले खेलभर उत्कृष्ट अवसर सिर्जना गरेको थियो। लामिन यामाल र मिकेल ओयार्जाबालका प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले  बचाउ गरे। अतिरिक्त समयअघि यामालको फ्रिकिक पनि मार्टिनेजले शानदार रूपमा रोके ।

स्पेनले लगातार दबाब बनाए पनि अर्जेन्टिनाले रक्षात्मक खेल अपनायो। पटक–पटक खेल रोकिँदा र फाउल धेरै हुँदा फाइनल अपेक्षाअनुसार आकर्षक बन्न सकेन।

स्पेनका विलियम्सले अतिरिक्त समयमा अर्को गोल पनि गरे। तर वैकल्पिक खेलाडी मिकेल मेरिनोले निकोलस ओटामेन्डीमाथि फाउल गरेको ठहर गर्दै रेफ्रीले उक्त गोल रद्द गरेका थिए।

नकआउट चरणमा इजिप्ट र इंग्ल्यान्डविरुद्ध पुनरागमन गर्दै जित निकालेको अर्जेन्टिनाले फाइनलमा भने त्यस्तो प्रदर्शन दोहोर्याउन सकेन। टोरेसको निर्णायक गोलसँगै स्पेन दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि जित्न सफल भयो।

एम्बाप्पे लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी

फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पेले  फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ जित्ने नयाँ इतिहास रचेका छन्। उनी विश्वकपको गोल्डेन बुट दुई पटक जित्ने पहिलो खेलाडी बनेका हुन्।

२७ वर्षीय एम्बाप्पेले यसपटक विश्वकपको ८ खेलमा सर्वाधिक १० गोल गरेका थिए ।‌ ८ गोल गरेका अर्जेन्टिनाका लियोनेल मेस्सीलाई पछि पार्दै एम्बाप्पेले गोल्डेन बुट आफ्नो नाममा लेखाए।

सन् २०२२ मा भएको कतार विश्वकपमा पनि एम्बाप्पेले ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए। यससँगै उनी लगातार दुई संस्करणमा विश्वकपको सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।

एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एउटै विश्वकपमा दोहोरो अंकमा गोल गर्ने पहिलो खेलाडी पनि बने।

विश्वकपको एउटै संस्करणमा एम्बाप्पेभन्दा बढी गोल गर्ने खेलाडीहरूमा सन् १९५८ मा १३ गोल गरेका फ्रान्सका जस्ट फन्टेन  र सन् १९५४ मा ११ होल गरेका हंगेरीका सान्डोर कोचिस  मात्र रहेका छन्।

यो उपलब्धिसँगै एम्बाप्पे पुरुष विश्वकप इतिहासका सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन्। उनको नाममा  विश्व कपका ३ संस्करणमा २२  गोल पुगेको छ।   मेस्सीले ६ संस्करणमा २१ गोल गरेका छन्।