July 19, 2026, Sunday
२०८३ श्रावण ३

आज ‘धेरै भारी’ वर्षा हुने सम्भावना, हेर्नुहोस् मंगलबारसम्मकै मौसम प्रक्षेपण

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान) देशभर अधिकांश बादल लागेको छ। कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार,

दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका अधिकांश स्थानमा तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभाग र मधेस प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

राति : देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा र तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा बागमती प्रदेशका हिमाली, पहाडी र तराई भूभाग साथै मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षा जारी रहने

आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने क्रम जारी रहने मौसमविद्ले बताएका छन्। 

मौसम महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अहिले बिहान पनि काठमाडौँ उपत्यकाका कतै कतै हल्का पानी परिरहेको छ। 

‘अहिले बुढानीलकण्ठ, चन्द्रागिरितिर सिमसिम पानी परिरहेको छ, तर यो अब रोकिने क्रममा छ’, उनले आज बिहान ८:२३ बजे नेपालखबरसँग भने, ‘यद्यपि केही बेर मौसम खुलेजस्तो भए पनि फेरि दिउँसो मौसम बदली हुने र वर्षा हुने सम्भावना छ।’  

मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ। 

‘कतै कतै भारी वर्षा पनि हुन सक्छ तर भारी वर्षाको सम्भावना अलि कम नै देखिएको छ’, उनले भने।  

हेर्नुहोस् मंगलबारसम्मकै मौसम प्रक्षेपण

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्