ओली-लेखक पक्राउपछि राजनीति तरङ्गित : एमालेले तय गर्यो चार कार्यक्रम, कांग्रेस आन्तरिक छलफलमा

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । शनिबार बिहान चाबहिल चोकमा एमालेका नेता तथा कार्यकर्ताको विरोध प्रदर्शन गरेका हुन् ।
अध्यक्ष ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेपछि नेकपा एमालेको शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघर्षका चार कार्यक्रम तय गरेको छ।
सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो।
प्रत्येक जिल्लाको सदरमुकाममा शनिबार अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको सचिव महेश बस्नेतले जानकारी दिए।
प्रत्येक जिल्लामा आइतबार चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको उनले बताए।
चौथो कार्यक्रमका रूपमा लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने, नागरिक समाज र आम जनसमुदायसँग पनि सहकार्य गर्ने निर्णय भएको उनले बताए।
कांग्रेस आन्तरिक छलफलमा
पूर्वगृहमन्त्री एवं नेता रमेश लेखक पक्राउबारे नेपाली कांग्रेसले शनिबार दिउँसोमात्रै धारणा बनाउने भएको छ।
आन्तरिक छलफल जारी राखेपनि कांग्रेसको औपचारिक बैठक भने तय भइसकेको छैन। लेखक पक्राउपछि पार्टीका शीर्ष नेताहरूबीच कसरी अगाडी बढ्ने भन्ने विषयमा कुराकानी भइरहेको जानकारी दिँदै महामन्त्री प्रदीप पौडेलले दिउँसोसम्ममा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए। आगामी कदमबारे पनि परामर्श भइरहेको महामन्त्री पौडेलको भनाइ थियो।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले बिहान ११ बजेका लागि प्रतिनिधि सभाका सांसदहरूको अभिमुखीकरण कार्यक्रम तय भएको र सोअघि लेखक पक्राउसम्बन्धमा स्पष्ट धारणा सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए।





प्रतिकृया दिनुहोस्