March 28, 2026, Saturday
२०८२ चैत्र १४

सुदूरपश्चिम महोत्सवमा ११ करोडभन्दा बढीको कारोबार, आयोजकलाई झन्डै ८३ लाख नाफा

धनगढी : सुदूरपश्चिम महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । सुदूरपश्चिमको पहिचान, संस्कृति र आर्थिक सम्भावनालाई उजागर गर्ने उद्देश्यले गत मंसिर २१ गते महोत्सवको आयोजना गरिएको थियो ।

कैलाली उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलनमार्फत महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा महोत्सव भव्य र उपलब्धिमूलक भएको जनाएको छ । सुदूरपश्चिम महोत्सवमा ११ करोडभन्दा बढीको कारोबार भएको जनाइएको छ ।

उद्योग बाणिज्य संघ अध्यक्ष पुष्करराज ओझाले महोत्सवबाट कुल ३ करोड ७८ लाख ३६ हजार ३६७ रुपैयाँ आम्दानी भएको छ भने २ करोड ६३ लाख १ हजार ७ सय ४० रुपैयाँ खर्च भएको बताएका छन् । महोत्सवबाट कुल बचत १ करोड १० लाखभन्दा बढी रहेको उनले बताए ।

बिभिन्न शिर्षकगरी ६० लाख ५३ हजार ७ सय ७१ रुपैयाँ सरकारलाई कर तिरेको पत्रकार सम्मेलन जानकारी दिइएको थियो । संघीय तथा स्थानीय कर दायित्वअन्तर्गत करिब ५१ लाख रुपैयाँ भुक्तानी गरिएको छ । सबै कर तथा दायित्व भुक्तानीपछि करिब २४ लाख रुपैयाँ कैलाली उद्योग बाणिज्य संघलाई खुद बचत रहेको छ ।

महोत्सवको सफल आयोजनामा आयोजक समिति, स्वयंसेवक, सुरक्षा निकाय, सञ्चारकर्मी, कलाकार तथा सहभागी सबैप्रति विशेष धन्यवाद व्यक्त गर्दै कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष केशबराज जोशीले महोत्सव केवल व्यापारिक मेला मात्र नभई सुदूरपश्चिमको पहिचान, संस्कृति, सम्भावना र व्यवसाय प्रवद्र्धन गर्ने साझा मञ्चका रूपमा स्थापित भएको छ ।

महोत्सव अवधिभर दुई हजारभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारी पाएको र स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएको जनाइएको छ । यसले प्रदेशको कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकको भनाइ छ ।

आयोजकले ‘सुन्दर सुदूरपश्चिम’ अभियानलाई निरन्तरता दिँदै प्रदेशका आर्थिक, पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा र औद्योगिक सम्भावनाको खोजी र विकासकाको सम्भावनाको खोजि गर्न ‘भिजन सुदूरपश्चिम’ बहस मुलक कार्यक्रमको सुरुवात गरेको समेत अध्यक्ष ओझाले बताएका छन् । उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा महोत्सव सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।