May 13, 2026, Wednesday
२०८३ बैशाख ३०

पाकिस्तानको हवाई आक्रमणमा ४०० जनाको मृत्यु

अफगानिस्तान : सोमबार राति अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताहरूको उपचार गर्ने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४०० जनाको मृत्यु भएको अफगानिस्तानले दाबी गरेको छ। यद्यपि, पाकिस्तानले अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार गरेको छ। 

पूर्वी अफगानिस्तानमा समेत गरिएका आफ्ना आक्रमणहरूले कुनै पनि गैरसैनिक  क्षेत्रलाई लक्षित नगरेको पाकिस्तानको भनाइ छ।

अफगानिस्तानका उपसरकारी प्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल एक्स मा एक पोस्ट गर्दै स्थानीय समयअनुसार राति करिब ९ बजे अस्पतालमा हवाई आक्रमण भएको जानकारी दिएका छन्। आक्रमणले २,००० शय्या क्षमताको उक्त अस्पतालको ठुलो भाग नष्ट गरेको छ। उनले हालसम्म मृत्यु हुनेको सङ्ख्या ४०० पुगेको र करिब २५० जना घाइते भएको बताएका छन्।

स्थानीय टेलिभिजन स्टेसनहरूले एक्समा पोस्ट गरेका भिडियो फुटेजहरूमा सुरक्षाकर्मीहरूले टर्चलाइटको सहायताले घाइतेहरूको उद्धार गरिरहेको र अग्नि नियन्त्रकहरू भत्किएको भवनको भग्नावशेषमा लागेको आगो निभाउन संघर्ष गरिरहेको देखिन्छ। फितरतका अनुसार उद्धार टोलीहरू आगो नियन्त्रण गर्न र शवहरू निकाल्न खटिएका छन्।

दुई छिमेकी देशबीच वर्षौंपछिको सबैभन्दा घातक लडाइँ तेस्रो हप्तामा प्रवेश गरेको छ। यो हवाई आक्रमण हुनुभन्दा केही घण्टा अघि मात्र साझा सीमा क्षेत्रमा दुवै पक्षबीच गोली हानाहान भएको थियो, जसमा अफगानिस्तानतर्फ चार जनाको ज्यान गएको अफगान अधिकारीहरूले बताएका थिए।

अफगान सरकारले यस आक्रमणको निन्दा गर्दै पाकिस्तानले ‘आतंक मच्चाउन अस्पताल र नागरिक स्थलहरूलाई लक्षित गरेको’ आरोप लगाएका छन्।