नागरिक उन्मुक्ति पार्टी नेपाल कैलाली-५ का उमेदवार चौधरी रास्वपामा प्रवेश

धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टी नेपालका उमेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली–५ का प्रतिनिधिसभा सदस्य उमेदवार जगन्नाथ चौधरी रास्वपा प्रवेश गरेका हुन् ।
रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु र रास्वपा उमेदवार डाक्टर आनन्दबहादुर चन्दले रास्वपाको धनगढी कार्यालयमा चौधरीलाई माला र खादा ओडाएर पार्टी प्रवेश गराएका छन् ।
कैलालीमा तीनवटा क्षेत्र नागरिक उन्मुक्ति पार्टीले जितेको जिल्ला हो । उक्त पार्टीमा विवाद भएपछि संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले अलगअलग पार्टी गठन गरेका थिए ।
रञ्जिताको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा एकीकरण भएर चुनावमा होमिएको छ । रेशमको पार्टी नागरिक उन्मुक्ति नेपाल भने चुनावी मैदानमा छ ।
उमेदवार चौधरीले रास्वपा र नागरिक उन्मुक्ति नेपालको मुद्दा मिलेकाले रास्वपामा समाहित भएको बताएका छन् । नागरिक उन्मुक्ति नेपालका उमेदवार चौधरी ०७९ को चुनावमा कैलाली–५ बाट उमेदवार थिए । उनले पाँच हजार मत पाएका थिए ।





प्रतिकृया दिनुहोस्