February 3, 2026, Tuesday
२०८२ माघ २०

खेलकुद आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी हो : आनन्द बिष्ट

मसुरिया (कैलाली) : खेलकुदले समाजका युवाहरुबीच आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी स्थापित गर्दै आएको कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्र्रेसबाट उम्मेदवार बनेका गोरखबहादुर बिष्ट ‘आनन्द’ ले बताएका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बालुवाटारस्थित खेलकुद मैदानमा खेलाडीहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्।

खेलकुदका माध्यमबाट युवाहरुबीच आपसी सद्भाव, सहकार्य, मित्रता र एक अर्काप्रतिको सम्मान प्रकट गर्ने भावना जागृत हुने बताउँदै उनले भने,‘खेलकुदका माध्यमबाट युवाहरुलाई लागूऔषध दुव्र्यसनीबाट टाढा राख्न सकिन्छ ।’ स्वास्थ जीवनका लागि खेलकुद अपरिहार्य भएको पनि उनले बताए । सम्पन्न राष्ट्रहरुमा ठाउँ ठाउँमा खेलकुदका लागि मैदान तथा विभिन्न व्यायामशाला निर्माण गरिने गरिएको बताउँदै उनले भने,‘हामीले पनि आम नागरिकलाई स्वस्थ् बनाउन खेलकुदका गतिविधि बढाउनुका साथै व्यायामशाला समेत निर्माण गर्नु जरुरी छ ।’ उनले आफूले आफ्नो निर्वाचन घोषणा पत्रमा पनि युवाहरुका लागि खेलकुद स्टेडियम, मैदान तथा व्यायामशाला निर्माणका योजना ल्याउने बताए । अहिलेको अवस्थामा युवाहरु बेरोजगार भएर दुव्र्यसनीमा फसिरहेको र तमामौ युवाहरु दुव्र्यसनीकै कारण जेल जीवन विताउन बाध्य रहेको उनले बताए । ‘युवाहरुलाई फुर्सदिलो समयमा हामीले खेलकुदमा अल्झाउन सकेमा दुव्र्यसनीबाट बचाउन सक्छौ,’ उनले भने,‘तसर्थ पनि हामीले युवा लक्षित खेलकुदका गतिविधि बढाउन जरुरी छ ।’

खेलकुदमार्फत युवाहरुले समाजलाई योगदान गरेर राष्ट्र निर्माणको वृहत प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्न सकिने उनले बताए । उनले युवाहरुले खेलकुदका माध्यमबाट पनि आयश्रोत बढाउन सकिने र देश विदेश घुम्न सकिने पनि बताए । ‘राम्रो खेलाडी उत्पादन भएमा खेलकुदका विभिन्न प्रतियोगितामा देश तथा विदेशमा गएर खेल्न सक्छन्,’ उनले भने,‘जसले गर्दा खेलाडीले पनि राम्रो पारिश्रमिक पाउनुका साथै जिवन यापनमा पनि सहजता हुन्छ ।’