January 21, 2026, Wednesday
२०८२ माघ ७

कांग्रेस बैठकको निर्णय : निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शनिबार नयाँ बानेश्वरमा बसेको बैठकले विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका, विभिन्न कारणले पार्टी छाडेका सबै नेता, कार्यकर्तालाई पार्टीमा पुन : जोडिन आह्वान गरेको छ ।

निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको परिप्रेक्ष्यमा उक्त निर्णय कसैको जित-हार नभई विधान र लोकतन्त्रको विजय भएको समेत बैठकले निष्कर्ष निकालेको प्रवक्ता देवराज चालिसेले बताएका छन् ।

यसका साथै अबको समय एकता, सद्भाव र सहकार्यको हो भन्दै देश-विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समितिहरू र सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता, कार्यकर्तालाई एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन समेत बैठकले आह्वान गरेको उनले बताए ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको शनिबार नयाँ बानेश्वरमा बसेको बैठकले गरेका निर्णयहरू :

१. निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन— यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रीय समितिको यो बैठक हार्दिक आभार व्यक्त गर्दछ ।

२ . यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश-विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समितिहरू र सबै भातृ तथा शुभेच्छुक संस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ ।

३ . विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सबै साथीहरूलाई पार्टीमा पुन : जोडिन यो बैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।

४ . यतिबेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली कांग्रेसको नेतृत्वमा रही लामो समयदेखि पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो बैठकले श्रद्धेय नेताको अभिभावकीय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।

५. नेपाली कांग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पुन: दोहर्‍याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ता केन्द्रित सम्झौता हुनेछैन । हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौ ।

६ . यो नयाँ अध्याय हो— रूपान्तरणको, एकताको, विजयको ।

सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ ।

जय नेपाल

देवराज चालिसे

प्रवक्ता

नेपाली कांग्रेस