April 18, 2026, Saturday
२०८३ बैशाख ५

कांग्रेस विवाद : निर्वाचन आयोग पुगे संस्थापन पक्षका नेता-कार्यकर्ता, के भन्यो निर्वाचन आयोगले ?

काठमाडौँ : नेपाली कांग्रेस संस्थापन पक्षका नेता–कार्यकर्ता यति बेला निर्वाचन आयोग पुगेका छन् । विशेष महाधिवेशनमार्फत् गगन थापा पार्टी सभापति चुनिएपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानबिन गरिरहेका बेला संस्थापन समूहका नेता–कार्यकर्ताले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आयोग पुगेका हुन् । 

संस्थापन पक्षले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ ।

शुक्रबार बिहान निर्वाचन आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो ।

नेता कल्याण गुरुङले केन्द्रीय समितिका पदाधिकारीहरु, जिल्ला सभापतिहरु, भातृसंस्था र शुभेच्छुक संस्थाको टोली निर्वाचन आयोग पुगेको बताए । ‘हामी हाम्रा कुरा राख्न आयोग आएका छौं,’ गुरुङले भने ।

यही पुस २७ गतेदेखि माघ १ गते बिहानसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेको थियो । यससँगै सभापति शेरबहादुर देउवा पक्षले र थापा पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सो निवेदनउपर छानबिन गरिरहेको आयोगले जनाएको छ ।

संस्थापन समूहका नेताहरूसँग शुक्रबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका छन् । 

प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफूहरूले संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली  र कांग्रेसको विधान तथा नियमावलीका आधारमा मात्रै आफूहरू निर्णयमा पुग्ने बताए। 

‘निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र कांग्रेसको विधानअनुसार निर्णय गर्छौँ । हाम्रा नजिर र परम्परा पनि हेर्छौँ ।’

यसैबीच नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दैछन् ।  कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।