February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५

मङ्सिर दोस्रो सातासम्म अख्तियारमा चार सयबढी उजुरी, सबैभन्दा बढी शैक्षिक क्षेत्रका

कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीमध्ये सबैभन्दा बढी शैक्षिक क्षेत्रमा हुने भ्रष्टाचार सम्बन्धित रहेको पाइएको छ । चालु आर्थिक आवको मङ्सिर दोस्रो सातासम्म चार सय ४४ उजुरी दर्ता भएका छन् । जसमध्ये चालु आवको मङ्सिर दोस्रो सातासम्म शिक्षासम्बन्धी १७४ उजुरी अख्तियारमा दर्ता हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक आवको मङ्सिर दोस्रो सातासम्म चार सय ४४ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०८२–०८३ मा दर्ता भएका चार सय ४४ वटा र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका चार सय ६२ गरि ९०६ वटा उजुरीको दर्ता भएको आयोगको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी चेतराज भट्टका अनुसार, अख्तियारमा परेका उजुरीमध्ये अत्यधिक शैक्षिक क्षेत्रमा हुने भ्रष्टाचार सम्बन्धित रहेका छन् । चालु आवको मङ्सिर दोस्रो सातासम्म शिक्षासम्बन्धी १७४ उजुरी अख्तियारमा दर्ता छन् । विद्यालयको दिवा खाजामा गरिएको भ्रष्टाचार, विद्यालय शिक्षकको सरुवा, भवन निर्माण, सामग्री खरिद, पुस्तकालयमा भएको भ्रष्टाचार अनियमिततासम्बन्धी मुद्दाका अख्तियारमा दर्ता छन् ।

स्थानीय तहसम्बन्धी एक सय तीन उजुरी दर्ता भएका छन् । यसैगरी, वन वातावरणसम्बन्धी १०६ उजुरी, भौतिक पूर्वाधारसम्बन्धी ११४, स्वास्थ्य क्षेत्रका ५३ उजुरी दर्ता भएको सूचना अधिकारी भट्टले बताए ।

५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन् । स्थानीय तहमा हुने नीतिगत भ्रष्टाचार तथा पूर्वाधार सामग्री खरिदलगायत निर्माणका नाममा अत्यधिक भ्रष्टाचारका उजुरीहरू दर्ता भएको उनले बताए ।

यसैगरी, सुदूरपश्चिमको कैलाली जिल्लाबाट अत्यधिक उजुरी दर्ता भएका छन् । कार्यायका अनुसार, चालु आर्थिक वर्षको हालसम्म कैलालीबाट दुई सय २० उजुरी यस आयोगको कार्यालयमा दर्ता भएकोमा ६६ उजुरी फर्छ्यौट गरिएका छन् भने, १५४ उजुरीमाथि छानबिन भइरहेको छ ।

कञ्चनपुरबाट एक सय ६६ भ्रष्टाचारका उजुरी कार्यालयमा दर्ता छन् । जसमध्ये ६७ उजुरी फर्छ्यौट गरिएका छन् भने ९९ उजुरी फर्छ्यौट हुन बाँकी छन् ।
अछाम जिल्लाबाट ९० भ्रष्टाचारका उजुरी दर्ता भएकोमा १९ उजुरी फर्छ्यौट गरिएका छन्, भने ७१ उजुरीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

यसैगरी, बैतडी जिल्लाका ८० उजुरी अख्तियारमा दर्ता छन् । जसमध्ये, १५ उजुरी चालु आवमा फर्छ्यौट गरिएका छन् भने ६५ उजुरी फर्छ्यौट हुन बाँकी रहेको भट्टले बताए ।

यसैगरी, दार्चुला जिल्लाका ७४ उजुरी अख्तियारमा दर्ता छन्, जसमध्ये १५ उजुरी फर्छ्यौट गरिएका छन् भने ५९ उजुरी फर्छ्यौट गर्न बाँकी छन् ।
बझाङबाट ६७ उजुरी दर्ता भएको सूचना अधिकारी भट्टले बताए । उनका अनुसार, बझाङका पनि १५ उजुरी फर्छ्यौट गरिएका छन् भने ५२ उजुरीमाथि अनुसन्धान अगाडि बढाइएको छ । डोटीका ६४ उजुरी दर्ता भएकोमा १३ उजुरी फर्छ्यौट गरिएका छन् भने ५१ उजुरी फर्छ्यौट हुन बाँकी रहेको छन् ।

चालु आर्थिक वर्षको हालसम्म सुदूरपश्चिमको डडेल्धुरा जिल्लाका न्यून उजुरी अख्तियारमा दर्ता भएको कार्यालयका सूचना अधिकारी भट्टले बताए । उनका अनुसार, डडेल्धुरा जिल्लाबाट ५५ उजुरी दर्ता भएकोमा २१ उजुरी फर्छ्यौट गरिएका छन् भने ३४ उजुरी फर्छ्यौट हुन बाँकी छन् ।

चालु आवको हालसम्म नयाँ दर्ता भएका चार सय ४४ र जिम्मेवारी सरी आएका गरी अख्तियारमा जम्मा ९०६ उजुरी दर्ता छन् । जसमध्ये ६५८ उजुरी फर्छ्यौट हुन सकेको छैन भने २५४ उजुरी फर्छ्यौट गरिएको सूचना अधिकारी भट्टले बताए ।

‘‘दर्ता भएका नौ सय ६ मध्ये, दुई सय ५४ फर्छ्यौट भएका छन्,’’ सूचना अधिकारी भट्टले भने, ‘‘६ सय ५८ मुद्दा प्रक्रियाका क्रममा रहेका छन् ।’’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख वेदप्रकाश भण्डारीले एक सय ५० उजुरीमाथि विस्तृत रूपमा अनुसन्धान कार्य अगाडि बढाइएको बताए ।