सुदुरको उद्योग र व्यापारका लागि प्रदेश सरकार अग्रसर

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार उद्योग र व्यापारका लागि अग्रसर रहेको बताइएको छ । आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव राजेन्द्रकुमार हमालले सुदूरपश्चिमको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई अगाडि बढाउन लगानी सम्मेलनमार्फत्् तयारी थालेको बताएका हुन् ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सुदूरपश्चिममा उद्योग र व्यापार ः अर्थतन्त्रमा समृद्धिको आधार’ विषयका बहसमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
बहस कार्यक्रममा अर्का बक्ताका रुपमा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव दीर्घनारायण कोइरालाले साना, लघु तथा मझौला खालका उद्योग एवम् व्यवसायलाई काम गर्ने वातावरण सिर्जना गर्न प्रदेश सरकार तत्पर रहेको बताएका हुन् ।
प्रदेशमा आर्थिक समृद्धि भनेकै पर्यापर्यटन, उद्योगधन्दा, कलकारखाना र व्यापार व्यवसाय भएको बताउँदै आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव हमालले भने,‘निजी लगानी नै प्रदेशको अर्थतन्त्रको मेरुदण्ड हो, सरकारले निजी क्षेत्रलाई उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा प्रोत्साहन गर्न र नीति निर्माणमा सहजीकरण गर्नुका साथै प्र्रोत्साहनका कार्यक्रम ल्याउँदै आएको छ ।’ संघीय सरकारको मातहतमा ठूलो औद्योगीक क्षेत्र रहे पनि प्रदेशको हकमा साना, घरेलु, मझौला तथा लघु उद्योगहरुलाई प्रोत्साहन गर्ने, सहजीकरण गर्ने अधिकार रहेको उनले बताए । उनले भने,‘यहाँको औद्योगिक तथा व्यवसायिक उन्नयनका लागि प्रदेश सरकारले लगानी तथा विकास सम्मेलनको तयारी गरिरहेको छ ।’
समृद्धिको आधार भनेकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र भएको बताउँदै वन मन्त्रालयका प्रदेश सचिव कोइरालाले औद्योगिक क्षेत्रलाई आयकर, भन्सारमा छुट सुविधाका साथै लिजमा जमिन उपलब्ध गराउने जस्ता कार्यमा प्रदेश सरकारले भूमिका खेल्नु पर्ने र सोही अनुसारको औद्योगिक सुरक्षाको व्यवस्थापनका क्षेत्रमा नीति निर्माण गर्नु पर्ने बताएका हुन् । तर, औद्योगिक क्षेत्रलाई प्रदेश सरकारले दिनुपर्ने सुविधा पर्याप्त नभएको बताए । त्यही भएर पनि सुदूरपश्चिम प्रदेश सरकारले गर्न थालेको लगानी तथा विकास सम्मेलनले केही सहजता ल्याउने उनले बताए ।
लगानी र विकास सम्मेलन खाली गर्नका लागि मात्रै नभएर त्यसले सुदूरपश्चिम प्रदेशको परियोजना र सम्भावनाको खोजी पनि गर्ने भएकाले त्यसले महत्वपूर्ण भूमिका खेल्ने प्रदेश सचिव हमालले बताए । उनले भने,‘सम्मेलनमा औद्योगिक क्षेत्रका कानुनी बाधा व्यवधान र अड्चनहरु के छन् ? त्यसलाई संशोधन गर्ने बाटो खुल्नुका साथै संघीय कानुनका समस्या बारे पहिचान हुन सक्ने छ । जसले गर्दा संघीय सरकारलाई पनि ऐन कानुन संशोधनका लागि प्रस्ताव गर्न सकिने बाटो खुल्ने छ ।’
युवा व्यवसायी सुरेन्द्र राठीले प्रदेश सरकारले युवाहरुलाई सुदूरपश्चिममै बसेर केही गर्न भन्नुभन्दा सहुलियतमा ऋण व्यवस्थापन गरी उद्योग व्यवसायतर्फ आकर्षित गर्न सके युवा पलायन रोकिने बताए । उनले भने,‘हामीले खाली युवाहरु विदेश गए भनिरहेका मात्रै छौँ, उनीहरुलाई स्वदेशमै रोक्नका लागि के नीति ल्यायौं भन्ने कुरा ठूलो छ । तसर्थ युवालाई आफ्नै प्रदेशमा रोक्नका लागि यही उनीहरुलाई उद्यमशीलतामा जोड्नु जरुरी छ ।’ सुदूरपश्चिममा पर्याप्त सम्भावना रहेको औल्याउँदै वहसका बक्ता तथा सहभागीहरुले कृषि, उद्योग, पर्यटन तथा व्यापारमा सुदूरपश्चिम भर्जिन क्षेत्र भएकाले युवा उद्यमीलाई बिजनेशमा आकर्षित गर्ने खालका कार्यक्रम प्रदेश सरकारले ल्याउनु पर्ने बताए ।
सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । पहिलो श्रृङखलामा सुदूरपश्चिमको कृषि सम्भावना ः अवसर र चुनौती, दोस्रो श्रृङखलामा सुदूरपश्चिम खेलकुदको उर्वर भूमिः पूर्वाधार, सम्भावना र अवसर, तेस्रो श्रृङखलामा सुदूरको शिक्षा ः हुनुपथ्र्यो कहाँ, हामी छौ कहाँ ? र शुक्रबार चौथो श्रृङखलामा सुदूरपश्चिममा उद्योग र व्यापार, अर्थतन्त्र समृद्धिको आधार विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको छ ।





प्रतिकृया दिनुहोस्