सुदूरपश्चिमको विजयी सुरुआत, हर्मितको अलराउन्डर प्रदर्शनमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित

काठमाडौं : दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जितका साथ विजयी सुरुवात गरेको छ।
हर्मित सिंहको अलराउन्डर प्रदर्शनप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको हो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाण्डूले १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमात्र बनाउन सक्यो ।
काठमाण्डूलाई सस्तैमा समेट्न सुदूरपश्चिमका स्कट कुग्गेलिन, हेमन्त धामी र ब्याटिङतर्फ अर्धशतक बनाएका हर्मित सिंहले समान दुई विकेट लिए । चार ओभरमा हर्मितले ५.२५ को इकोनोमी रेटसहित २१ रनमात्र खर्चिए । इशान पाण्डे, नरेन साउद र अविनाश बोहराको नाममा समान एक विकेट रह्यो ।
काठमाण्डूका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । उनले ३० बलमा एक चौका र दुई छक्का प्रहार गरे । जोन सिम्पसनले २४ रन थप्दा भीम सार्कीले १२, मिलिन्द कुमारले ११ र सन्नी पटेलले १० रन थपे । काठमाण्डूका अलराउन्डर आदील आलम ‘गोल्डेन डक’ भए । ११.५ ओभरमा ९६–५ को स्थितिमा रहेको काठमाण्डूले यसपछि २२ रन जोड्दा बाँकी पाँच विकेट गुमायो ।
पहिलो इनिङमा हर्मितको अर्धशतक
त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको थियो ।
सुदूरपश्चिका हर्मितले सर्वाधिक ५३ रन बनाए । आक्रमक रूपमा प्रस्तुत भएका हर्मितले २० बलमा दुई चौका र ६ छक्का प्रहार गरे । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र एक छक्कासहित ३९ रन थपे । ७२–६ को नाजुक स्थितिबाट यी दुईले सातौँ विकेटका निम्ति ६१ रनको साझेदारी गर्दै सुदूरलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोहोर्याएका थिए ।
सुदूरपश्चिमले १६औँ ओभरको सुरुआतदेखि १८औँ ओभरको दोस्रो बलसम्म कुल १४ बलमा ५३ रन बनाउँदै इनिङ उकासेको हो । सुदूरपश्चिमले १६औँ ओभरमा २१ र १७औँ २४ रन बनाएको थियो । यस्तै, १८औँ ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा दुई रन लिँदा सुदूरले १४ बलमा ५३ रन जोडेको हो । तर, १८औँ ओभरको तेस्रो बलका कप्तान दीपेन्द्रसिंह ऐरी पभेलियन फर्किएपछि सुदूरको तीव्र रन गतिमा पुनः ‘ब्रेक’ लाग्यो ।
आसिफ सेखले २४ बलमा तीन चौकासहित २५ रन र इशान पाण्डेले ११ रन थपे । यसबाहेक, सुदूरका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सुदूरले ओपनरद्व विनोद भण्डारी र जस ब्रोनलाई पहिलो ओभरमै गुमाएको थियो । विनोद र ब्रोन दुवै ‘डक’ भएका थिए ।
अस्ट्रेलियाका आक्रामक ब्याटर क्रिस लिन पनि दुई रन थप्दै आउट भए । नरेन साउदले ६ रन जोड्दा स्कट कुग्गेलिन र अबिनाश बोहराले एक–एक रनमात्रै बनाए । हेमन्त धामी तीन रनमा अविजित रहे ।
काठमाण्डूका कप्तान करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेका करणले ३० रन खर्चिए । मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले समान दुई विकेट लिए ।
प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले निराश बनाएको थियो ।
यता, सुदूरपश्चिको भने यो पहिलो खेल हो । यसअघि, यी दुई टिमले पहिलो संस्करणमा एकपटक एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेको थिए । लिग चरणको उक्त खेलमा सुदूरपश्चिमले काठमाण्डूविरुद्ध ७३ रनको सहज जित निकालेको थियो ।





प्रतिकृया दिनुहोस्