May 1, 2026, Friday
२०८३ बैशाख १८

एनपिएल दोस्रो सिजन : आज दुई खेल हुँदै, कुन कुन टिमबिच हुदैछ प्रतिस्पर्धा ?

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएलमा) दोस्रो सिजनमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह पौने १२ बजे पहिलो खेल हुने आयोजकले जनाएको छ ।

पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै अपरान्ह चार बजे विराटनगर किंग्स र पोखरा एभजेन्जर्स भिड्नेछन्। 

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीको टोलीमा अफगानिस्तानका ब्याटर नाजिबुल्लाह जाद्रान खेल्दैछन्। उनी अफगानिस्तानको राष्ट्रिय टोलीका खेलाडी हुन्। उनीसँगै अस्ट्रेलियन अलराउन्ड विल बोसिस्टो पनि कर्णालीका हेर्नलायक खेलाडी हुन्। 

चितवनले यसपटक पाकिस्तानका तीव्र गतिका बलर सोहेल तन्विर तथा इंग्ल्यान्डका रवी बोपारालाई निरन्तरता दिएको छ। बोपाराले गत सिजन लिगकै सर्वाधिक रन बनाएका थिए। यस्तै डविड मलान र सइफ जइब पनि यो सिजन चितवन आएका छन्। 

दिनको दोस्रो खेल जिमी निशमका कारण खेल रोमाञ्चक हुने अपेक्षा छ। गत सिजन साविक विजेता जनकपुर बोल्ट्सबाट खेलेका निशम यो सिजन पोखरामा आबद्ध छन्। यद्यपी उनले सिजनका सुरुवाती चार खेल मात्र खेल्नेछन्।

निशमले सन्दीप लामिछानेको कप्तानीमा मार्टिन गप्टिलविरूद्ध खेल्नेछन्। विराटनगरमा आबद्ध भएका फाप डु प्लेसिस भने सुरूवाती खेलमा उपलब्ध हुनेछैनन्। यद्यपी टोलीमा दक्षिण अफ्रिकाका तीव्र गतिका मार्साङ डि लाङगका कारण खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।

हिजो भएको पहिलो खेलमा काठमान्डु गोर्खाजले विजयी सुरूवात गरेको छ। काठमाडौंले साविक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको छ। जितको लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष पुरा गरेको थियो।