November 8, 2025, Saturday
२०८२ कार्तिक २२

मन्त्रीको शपथ लिन लागेका सुनार फौजदारी मुद्दाका प्रतिवादी, लेखेका थिए महिला अधिवक्ताविरुद्ध अपशब्द

काठमाडौँ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको शपथ लिन लागेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको भेटिएको छ । विवादित छविका सुनारलाई मन्त्री बनाउन लागेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको आलोचना भइरहेको छ ।

दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएको छ ।

उनलाई चिन्नेहरूले उनीविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी तथा उनले एक महिला अधिवक्ताविरुद्ध लेखेको फेसबुक स्टाटस सार्वजनिक गर्दै सरकारको आलोचना गरिरहेका हुन् ।

खगेन्द्र दैलेखको नारायण नगरपालिका वडा नम्बर २ भैसेखोर निवासी खगेन्द्र कमान सिंहका छोरा र डिलबहादुरका नाती हुन् । उनी २०७८/७९ मा दैलेखबाट नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका थिए ।

स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

WhatsApp Image 2025-10-26 at 12.00.25_742e8ab0

२०८१ असार १४ मा दायर भएको मुद्दा मा अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनु’ भदै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो । २०८१ मङ्सिर २१ मा उनलाई पक्राउ गरेर उपस्थित गराइदिन भन्दै अदालतले पत्राचार गरेको थियो ।

सुनारविरुद्ध सुर्खेत स्थित गुर्भाकोट नागरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरी दिएका थिए ।

WhatsApp Image 2025-10-26 at 11.41.37_0c8fe27b

दैलेखका डीएसपी गणेश बरालले सो पत्रबारे अनभिज्ञता जनाए । उनले भने, ‘म अहिले बाहिर छु ।’