सुटकेसभित्र भेटियो महिलाको शव, अनुसन्धान जारी

धनगढी : सुटकेसभित्र महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव फेला परेको हो।
रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति १०:३० बजे शङ्कास्पद सुटकेस फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको थियो।
प्रहरीका अनुसार रसीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेसभित्र महिलाको शव रहेको देखिएको हो। महिलाको हत्या गरी सुटकेसमा हालिएको हुन सक्ने प्रहरीहरूको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार डोरीले बाँधिएको अवस्थामा सुटकेश भेटिएपछि रातभरि प्रहरीले रुँगेर बसेको थियो।
‘शंकास्पद भएका कारण तत्काल खोलिहाल्न पनि भएन। केही प्रहरीलाई रातभरि राखेर बिहानमात्रै सुटकेश खोल्यौं,’ उनले भने। बिहान आफै घटनास्थल पुगेको र सुटकेश खोलेर हेर्दा महिलाको शव भेटिएको उनले बताएका हुन। उनका अनुसार सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको घाँटीमा डोरी र सलले बाँधिएको छ। उनको नाकमा रगतका धब्बाहरू छन्। महिलाको अन्दाजी उमेर २५/२६ को जस्तो देखिने डिएसपी कार्कीले बताए।
शवको प्रकृति हेर्दा महिलाको हत्या शुक्रबार दिउँसो मात्रै भएको जस्तो देखिने पनि उनले बताए।’शव धेरै पुरानो जस्तो देखिँदैन। शुक्रबार दिनभरिको घटनाजस्तो देखिएको छ। यसबारे फरेन्सिक जाँच गरेपछि थप खुल्छ,’ उनले भने।
शवको पहिचान खुलिसकेको छैन। वरपरका स्थानीयहरूसँग पनि सोधपुछ भइरहेको डिएसपी कार्कीले बताए। शव पोस्टमर्टमका लागि अस्पताल पठाइएको छ। बाँकी अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए।
प्रतिकृया दिनुहोस्