उत्तराखण्ड बाढी : नेपालीलाई ज्याला न राहत

कञ्चनपुर : कैलाली टीकापुरका प्रकाश बुढा भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा पर्ने धरालीमा मजदुरी गरिरहेका थिए । धराली बजारमा होटेल निर्माणको काम भइरहेको थियो । त्यसैमा प्रकाश र उनका भाइ रमेशसहित ९ जना काम गर्थे । काम गरेको केही दिनको ज्याला लिन बाँकी नै थियो ।
तीन साताअघि अचानकको आरिघोप्टे वर्षापछि खीरगंगा नदीमा आएको बाढीले धराली बजार तहसनहस भयो । प्रकाशसहित उनको परिवारले ज्यालादारी काम गरिरहेको होटेल पनि बगाएर लग्यो । होटेल मात्रै बगाएन उनीहरूको ज्याला पनि त्यसमै बग्यो ।
‘कोठामा राखेको पैसा पनि बाढीमै पुरियो, हिसाब गर्न बाँकी रकम पनि साहुले दिएन,’ बुढाले भने, ‘३०/३५ हजार ज्याला लिन बाँकी थियो, होटेल बगेपछि साहुले दिन सक्दैन भन्यो ।’ घर आउने बेला ५ हजार भारु दिएको उनले बताए ।
त्यही बाढीमा परेर प्रकाशका भाइ रमेश र बुहारी प्रिया बेपत्ता छन् । शुक्रबार हरिद्वार पुगेर कुशको पुतला बनाएर अन्तिम संस्कारसँगै किरिया गरिएको उनले बताए । किरियाको काम पनि दुई दिनमै टुंग्याएको उनले बताए । शनिबार हरिद्वारबाट घर आउन लागेको उनले जानकारी दिए ।
‘तीस/चालिस फिटसम्म ग्राभेल भरिएको छ, त्यसमा लास भेटिने सम्भावना छैन,’ बुढाले भने, ‘बेपत्ताका आफन्त कोही धरालीमै, कोही हरिद्वारमा र कोही घर फर्किएर किरिया गर्न थाले ।’ धरालीको बाढीमा परेर २१ जना नेपालीसहित ६८ जना बेपत्ता भएको उत्तराखण्डको राज्य आपतकालीन परिचालन केन्द्रले जनाएको छ ।
बाढीमा परेर बेपत्ता भएका भारतीय नागरिकलाई उत्तराखण्ड सरकारले राहत स्वरूप जनही ५ लाख भारु दिने घोषणा गरेको छ । तर नेपालीको हकमा भने नत मजदुरी गरेको ज्याला पाए न राहत नै । ‘भारतीय नागरिकलाई त ५ लाख दिने भनेको छ, तर हामीले काम गरेको ज्याला समेत पाएनौँ,’ बुढा भन्छन्, ‘अहिले खर्च नभएर घर फर्किन निकै गाह्रो भएको छ ।’
सोही बाढीमा बेपत्ता भएको जाजरकोटको कुशे गाउँपालिका–२ तालीगाउँका ५ जना बेपत्ता भएका छन् । तिनका आफन्त पनि घर पुगिसकेका छन् । ‘घरमै किरिया गर्ने गरी आएका हौं,’ बाढीमा बेपत्ता भएका कर्ण बहादुर सिंहका भाइ गणेशले भने, ‘अरु पनि हामीसँगै फर्किएका छन् ।’ उनीहरू शुक्रबार रुपेडिया नाका हुदै नेपाल भित्रिएका हुन् ।
पछिल्लो समय धरालीमा खोजी कार्य पनि सुस्त भएको र बेपत्ताहरू भेटिने सम्भावना पनि कम रहेकाले आफन्तहरू फर्किएका हुन् । उनीहरू घरमै किरिया गर्ने गरी फर्किएका हुन् । बेपत्ता भएकाहरूको खोजीदेखि धराली क्षेत्रमा रहेका नेपालीको उद्धारमा दूतावासले पहल गर्न नसकेको पीडितको गुनासो छ ।
‘अहिले हामी खर्च नभएर अलपत्र परेका छौं, दूतावासले कसैसँग सम्पर्क समेत गरेको छैन,’ बुढाले भने, ‘यति मान्छे बेपत्ता छन्, तिनको खोजीबारे पनि चासो राखेको देखिएन ।’
उक्त क्षेत्रमा नेपालीहरू स्याउबारीको गोडमेलदेखि तरकारी खेती र विकास निर्माणका काममा ज्याला मजदुरी गरिरहेका थिए । बाढीपछि काम गरेको ज्यालासमेत धेरैले नपाएको बुढा बताउँछन् । कतिपय मालिकहरू नै बेपत्ता भएकाले पनि समस्या भएको उनले बताए । कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्