September 18, 2025, Thursday
२०८२ आश्विन २

दुर्गमको सेवामा पूर्व प्रशासक आत्माराम पाण्डे

धनगढी : धनी होस् या गरिब, ओहोदा ठुलो होस् वा सानो। कतिपयले आफूलाई दुरदराजका बासिन्दासँगको सम्बन्धलाई जीवन्त बनाइराख्न चाहिरहेका हुन्छन्। सकेको योगदान गर्ने चाहना र प्रयास गरिरहेका हुन्छन् । त्यसैमा उनीहरूले आनन्दानुभूति महसुस गरिरहेका हुन्छन् ।

स्वयंसेवीका रूपमा दुर्गमका लागि केही न केही योगदान गर्न दौडधुप गरिरहने एक जना पूर्व प्रशासक हुन्, आत्माराम पाण्डे । नेपालको त्यस्तो पहिलो परिवार, जुन परिवारमा सहोदर तीन वटै भाइ सिडिओ, क्षेत्रीय प्रशासक र सचिव भएका थिए।

स्याङ्जाको हाल कालीगण्डकी गाउँपालिका-४ बिर्घाका काशीराज पाण्डेका जेठा छोरा अनन्तराज पाण्डे गृह सचिवबाट सेवा निवृत्त भए, माइला शंकरप्रशाद पाण्डे शिक्षा सचिवबाट र कान्छा आत्माराम पाण्डे रक्षा सचिवबाट सेवा निवृत्त भएका थिए ।

सरकारी सेवाको उपल्लो तहमा पुगेका अधिकांश पदाधिकारीहरू सेवा निवृत्त हुने बित्तिकै राजनीतिक निकटताको साइनो गाँसेर विभिन्न उच्च तहका नियुक्तिका लागि दौडधुप गरिरहेका हुन्छन् । कतिपयले त सेवा निवृत्तिको निकट पुग्दै गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, दातृ निकायमा पनि स्थान सुरक्षित गर्न ऊर्जा खर्चिरहेका हुन्छन् ।

तर अपवाद, रक्षा सचिवबाट सेवा निवृत्त आत्माराम पाण्डेलाई भने त्यस्तो नियुक्तिको मोह कहिल्यै जागेन । दौडधुप गरेको भए उनी पनि कुनै न कुनै ठाउँमा सहजै नियुक्ति पाउन सक्थे । उनले त सरकारी सेवा निवृत्तिपछिको समय दुर्गमको सेवामा सकेको केही गर्ने योगदान गर्ने बाटो रोजे ।

०६९ तिर तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासक रहँदा पाण्डेले सुदूरपश्चिमका पहाडी जिल्लाको विकटता, अभाव, गरिबी र विपन्नता नजिकबाट देखे । पदको रवाफी व्यवहार कहिल्यै प्रस्तुत नगर्ने स्वभाव भएकाले होला पाण्डे सर्वसाधारणसँग घुलमिल भए ।

सुदूर पहाडका सर्वसाधारणले भोगिरहेको सुखदु:खको साक्षी बने, साथी बने । त्यसमा पनि मानव विकासमा सबैभन्दा पुछारमा रहेको बाजुराको अवस्थाले उनलाई असाध्यै घोचिरह्यो । त्यसैले उनले निवृत्तपछि बाजुराका लागि आफूले सकेको केही योगदान गर्ने सुर कसे ।

हुन त पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट ०३४ सालमा राष्ट्रिय विकास सेवाका क्रममा पहिलो पटक सुदूरपश्चिम टेकेका थिए । त्यस बेला १० महिना डोटीको तत्कालीन चमरा चौतारा गाउँ पञ्चायतमा रहेको खत्याडी माध्यमिक विद्यालयमा खानेपानी योजना निर्माणको अगुवाइ गरेका थिए।

सरकारी सेवा प्रवेशअघि सुदूरपश्चिमबाट सुरु भएको आफ्नो सेवा निवृत्त अवधिलाई पनि सुदूरपश्चिमकै सेवामा सकेका योगदान गर्ने अठोट थियो ।

०३८ सालमा अधिकृत पदबाट सरकारी सेवामा प्रवेश गरेर ०७० मा अवकाश पाएका पाण्डे सुदूरपश्चिममा क्षेत्रीय प्रशासक भएका बेला बाजुरा सदरमुकाम मार्तडीसम्म सडक यातायात सेवा पुगेको थिएन । ट्रयाक खुलेको भएपनि जडाङ्गास्थित बुढीगंगा नदीमा पुल निर्माणका लागि जिल्लावासीले हारगुहार गरिरहेका भए पनि सुनुवाइ भइरहेको थिएन । पैदल हिँडेर मार्तडी पुगेपछि जिल्लावासीसँग उनले बुढीगंगामा बेलिब्रिज स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता गरे ।

‘तत्काल काठमाण्डौं फर्केर उनले सम्बन्धित निकायसँग निकै पहल गरेपछि बेल ब्रिज सम्भव भएको थियो,’ पाण्डेले भने ‘बेल ब्रिज स्थापनाका लागि मैले कैयौँ पटक भौतिक मन्त्रालयमा धाएको थिएँ । त्यही पनि समयमै सुनुवाइ नभएकाले बाजुरा सदरमुकाममा हिंसा भड्किएको थियो । प्रमुख जिल्ला अधिकारीलाई कार्यकक्षमै थुनेर जिल्ला प्रशासनको भवनमा आगजनी गर्ने अवस्था आएको थियो । सिडिओको निवास त पुरै जल्यो ।’

Ex-Administrator in the service of remote

पाण्डेले हालसम्म बाजुराका विभिन्न क्षेत्रमा योगदान गरिरहेको फेहरिस्त लामै छ । उनले बाजुराको सर्वाधिक बिकटमा रहेको बिच्छ्या माविका अढाई सय विद्यार्थीहरूलाई स्विटर, खप्तड छेडेदहस्थित मष्टेश्वरी माविका ५८८, त्रिवेणी नगरपालिकास्थित पार्वती माविका ३१० विद्यार्थीलाई विद्यालय झोला, त्रिबेणीकै मष्टेश्वरी आधारभूत विद्यालयका ८७, बुढीगंगा नगरपालिकाको बजेटमा आधारभूतका १४७ विद्यार्थीलाई विद्यालय झोला उपलब्ध गराएका छन् ।

यही अवधिमा बाजुराको विकटका कतिपय बस्तीहरूमा खानेपानी सुविधा उपलब्ध गराउन पनि लागि परेका छन् । ‘बुढीनन्दास्थित बिरसेन माविमा खानेपानी, खप्तड छेडेदह ५ मा पर्ने च्यानकोट र घंगेरीमा दुई वटा खानेपानी योजनाहरूको निर्माण सम्पन्न भइसकेको छ,’ पाण्डेले भने, ‘सोही वडाको दलित बस्तीमा पनि खानेपानी योजना निर्माणका लागि स्रोत जुटाउने प्रयास गरिरहेको छु ।’ यस्तै, त्रिवेणी-५ कै रामेश्वरी माविमा खानेपानी अभाव भएकाले त्यहाँका लागि पनि स्रोत जुटाउन लागि परेको उनले बताए ।

पाण्डेले दुर्गममा सहयोग गर्न कुनै संघसंस्था स्थापना गरेर काम गरिरहेका होइनन् । ‘आफ्नो चिनजानका साथीभाईहरुलाई अनुरोध गरेर उनीहरूकै सहयोगमा सहयोग पुर्‍याउन प्रयत्न गर्छु,’ उनले भने ‘मुख्य कुरा पूर्व प्रशासकहरूले विकट ठाउँको सेवा भावमा जोडिराख्न पाउँदा आफैमा खुसी मिल्ने भएकाले यो प्रयास गरिरहेको हुन्छु । वित्तीय संस्थाहरू, सरकारी निकायमा आफ्नो व्यक्तिगत र पारिवारिक सम्पर्क सम्बन्धको प्रयोग गर्ने गरेको छु । भावना भएपछि जुर्दो रहेछ ।’ कान्तिपुरबाट